फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शनिबारदेखि विराटनगरबाट माउन्टेन फ्लाइट हुने

(GMT+08:00) 2018-11-22 14:40:07

विराटनगरबाट व्यावसायिक रुपमा पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरिने भएको छ। विराटनगरका पर्यटन व्यवसायीको पहलमा विराटनगर विमानस्थलबाट चार्टर विमानमार्फत हप्ताको एक दिन शनिबार माउन्टेन फ्लाइट गराइने भएको अनलाइन खबरले लेखेको छ।

भारत र बंगलादेशसहित आन्तरिक पर्यटकलाई काठमाडौं भन्दा सस्तोमा विराटनगरबाट माउन्टेन फ्लाइटको साप्ताहिक उडान गरिने विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठले बताउनुभयो।

विराट होलिडेजले यति एयरलाइन्ससँगको साझेदारीमा आगामी शनिबार (मंसिर ७ गते) पहिलो माउन्टेन फ्लाइट विराटनगरबाट गराउने उहाँले बताउनुभयो। अध्यक्ष श्रेष्ठले यात्रु पाएको अवस्थामा एयरलाइन्सले आफ्नै कार्यसूचीमा उडान गराउने समझदारी गरिएको जानकारी दिनुभयो।

माउण्टेन फ्लाइटका लागि यति एयरलाइन्सले हप्तामा एउटा उडान विराटनगर विमानस्थलबाट भर्नेछ। त्यसका लागि यात्रुको जिम्मेवारी पर्यटन व्यवसायीले लिने भएका हुन्।

भारतको सिक्किम, बंगाल र विहार तथा बंगलादेशका पर्यटकलाई सम्पर्कमा ल्याउन त्यहीँको ट्राभल एजेन्सीसँग कुराकानी भइरहेको श्रेष्ठले बताउनुभयो।

यसअघि २०७३ सालमा एउटा माउण्टेन फ्लाइट विराटनगरबाट गराइएको थियो। उद्योग संगठन मोरङले त्यसबेला आयोजना गरेको विराट एक्स्पोको समयमा पर्यटन व्यवसायीले माउण्टेन फ्लाइट गराएका थिए। तर, त्यसपछि निरन्तर हुनसक्ने आशा राखिएको माउन्टेन फ्लाइट भने भएको थिएन।

विराटनगरबाट सुरु हुने माउन्टेन फ्लाइटमा पर्यटकले प्रदेश १ भित्र पर्ने आठ हजार मिटरमाथिका हिमश्रृङ्खलाको अवलोकन गर्न पाउनेछन्। प्रदेश १ मारहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरु सहजै अवलोकन गर्न सकिने छ। प्रदेश १ मा मात्रै अहिले १४ वटा विमानस्थल रहेका छन्।

जसमध्ये लुक्लाका लागि मात्रै सरकारले उडान अनुमति दिएमा विराटनगरदेखि दैनिक पाँचवटा फ्लाइट हुनसक्ने व्यवसायीहरुको अनुमान छ। काठमाडौं–लुक्काका लागि अहिले दैनिक ५० उडान हुने गरे पनि अझै अभाव देखिदैं आएको व्यवसायीहरु बताउँछन्।

विराटनगरबाट एयर चार्टरमा सुरु गरिने माउण्टेन फ्लाईटमा प्रतियात्रु ९ हजार नौसय रुपैयाँ भाडादर कायम गरिएको छ। पहिलो चरणमा भारत विहार, बंगाल र सिक्किमका ट्राभल्स एशोसिएसनमार्फत त्यहाँका पर्यटक भित्र्याउन सम्पर्क गरिसकिएको र बारम्बार उडान हुने अवस्थाले क्रमशः यात्रु पूर्ति हुने आशा राखिएको छ।

जानकारी तथा लेखहरु