फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीले निर्माण गरिरहेको भैरहवा विमानस्थल जेठसम्ममा उडानयोग्य हुने

(GMT+08:00) 2018-11-25 14:09:08

चिनियाँ कम्पनीले निर्माण गरिरहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अहिले बिनाअवरोध भइरहेको छ। दैनिक दुई मेसिनले 'रनवे' को पिच धमाधम गरिरहेका कान्तिपुर अनलाइनले लेखेको छ।

आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीका अनुसार डेढ महिनाभित्र ३ हजार मिटर लामो रनवेमा पहिलो तहको पिच पूरा हुनेछ। त्यसपछि दुई तहको पिच हुनेछ। त्यो पिच गर्न थप २० दिन लाग्छ। 'विमान कहिलेदेखि अवतरण गराउने त्यो अर्को पाटो हो,' आयोजना प्रमुख अधिकारीले भन्नुभयो, 'आउँदो जेठ महिनासम्म विमान उडानयोग्य बनाउने गरी विमानास्थलको काम गरिरहेका छौं।' २०७१ सालबाट सुरु विमानस्थलको निर्माण भारतले गरेको नाकाबन्दी, मधेस आन्दोलन र ठेकेदार कम्पनीका कारण समस्यामा थियो। २०७४ सालमै सक्ने भनेको आयोजना झन्डै डेढ वर्षपछि सरेको छ।

'अब कुनै समस्या छैनन्, तोकिएकै समयमा सक्ने गरी सरकारले सहजीकरण गरिरहेको छ,' विमानस्थल निर्माणको अनुगमनमा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले भन्नुभयो, 'राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये यो आयोजनाचाहिँ छिट्टै सकिने विन्दुमा पुगेको छ।' सरकारले यो विमानस्थलाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखी निर्माणलाई प्राथमिकता दिएको छ।

यसै आर्थिक वर्षभित्र विमानस्थल निर्माणको काम पूरा हुने भए पनि हवाई रुटको विषयले जहाज उडानमा सममस्या पर्न सक्ने सम्भावना छ। हवाई रुटका लागि भारतसँग सहमति भइसकेको छैन। नेपालले थप हवाई रुट माग गरे पनि भारतले दिन मानिरहेको छैन। रुट पाएको अवस्थामा नेपाल भित्रिने विमानलाई सजिलो हुनेछ। 'अहिले यसका लागि कूटनीतिक पहल जारी छ,' पर्यटनमन्त्री अधिकारीले भन्नुभयो।

भारतले रुट उपलब्ध नगराए यो विमानास्थल आउने विमानहरू भारतको रुटको प्रयोग गरी सिमरा हुँदै आउनुपर्नेछ। जसले विमानलाई समय र लागतको थप भार पर्नेछ।

उडानयोग्य समयसम्म समस्या समाधान हुन सक्ने अनुमान भने गरिएको छ। निर्माण पूरा गर्न चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले झन्डै ३ सय कामदार परिचालन गरिरहेको छ। आयोजनानिर्देशक सुईका अनुसार चिनियाँ र स्थानीय कामदारले निर्माण काम गरिरहेका छन्। 'ट्याक्सीवे'निर्माण भइसकेको छ।

टर्मिनल भवन, टावर, कन्ट्रोल रुमलगायतका संरचना करिब तयार भएका छन्। अब फिनिसिडको काम सुरु हुने आयोजना प्रमुख अधिकारीले बताउनुभयो। हाल चालु अवस्थाको रनवेलाई पनि नयाँ रनवेमा जोडिनेछ। दुई रनवे जोड्ने काम पनि सँगसँगै अघि बढेको छ।

पुरानो रनवे जोड्ने पाँच वटा सबवेको काम पनि सँगसँगै सकिने उहाँले जानकारी दिनुभयो। रनवे, अन्तर्राष्ट्रिय एप्रोन एवं एयर ट्राफिक कन्ट्रोलका लागि आवश्यक पर्ने उपकरणको आयात तथा जडानका लागि समेत टेन्डरको प्रक्रिया अघि बढेको छ। टेन्डरको म्याद आइतबारसम्म छ। त्यसपछि स्वीकृत गरेर यी काम अघि बढ्नेछन्।

हाल त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा अवतरण हुँदै आएका सबै खालका जहाजहरू यो विमानस्थलमा आउन सक्नेछन्। यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा उपयोग सकिनेछ। ६ अर्ब २२ करोड ५१ लाख २० हजार १ सय २८ रुपैयाँ लागतमा बन्न लागेको हो। विमानस्थल निर्माणमा एसियाली विकास बैंकको मुख्य ऋण र अनुदान छ।

अहिले निर्माण व्यवसायीहरूलाई दिनका लागि तत्काल झन्डै २ अर्ब रुपैयाँको निकासा आवश्यक परेको छ। त्यसका लागि राष्ट्रिय गौरव आयोजनालाई लेखिपठाएको परियोजना प्रमुख अधिकारीले बताउनुभयो। मन्त्रीले पनि भुक्तानीकालागि आवश्यक रकम तत्काल उपलब्ध गराइने बताउनुभयो।

'पैसालगायतका कारण काम रोकिँदैन, तत्काल निकासा हुन्छ,' मन्त्री अधिकारीले भन्नुभयो। सरकारले लुम्बिनीलाई प्रमुख पर्यटकीय गतव्य बनाउँदै त्यसको भ्रमणमा आउनेलाई यो विमानस्थलबाट जोड्न खोजेको छ।

जानकारी तथा लेखहरु