फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा एसिया प्यासेफिक समिट (सम्मेलन) औपचारिक रूपमा सुरु

(GMT+08:00) 2018-12-01 15:26:18

काठमाडौंमा आयोजित विवादित एसिया प्यासेफिक समिट (सम्मेलन) औपचारिक रूपमा सुरु भएको छ। अनौपचारिक रूपमा हिजै (शुक्रबार) सुरु उक्त सम्मेलनको आज (शनिबार) औपचारिक उद्घाटन गरिएको हो। हायात होटलमा सोमबारसम्म चल्ने सम्मेलनमा सात देशका राष्ट्र प्रमुख, सरकार प्रमुख एवं उपप्रमुख, १० जना पूर्वराष्ट्रप्रमुख र सरकारप्रमुखलगायत सहभागी छन्। धार्मिक गैरसरकारी संस्था युनिभर्सल पिस फेडेरसन (यूपीएफ)ले उक्त सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा आयोजकले नेपालका सबै राजनीतिक दलका नेताहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई निमन्त्रणा गरेको नेपालखबर अनलाइनले जनाएको छ।

क्रिश्चियन धर्मको प्रचार गर्ने संस्था युनिभर्सल फिस फेडरेसनले आयोजना गरेको कार्यक्रममा सरकारसमेत सहभागी भएको भन्दै आलोचना भइरहेको छ। तर आयोजकले भने सम्मेलनले नेपालको पर्यटकीय प्रवद्र्धन गर्नाका साथै शान्तिप्रक्रिया र संविधान निर्माणपछिको रूपान्तरणबारे विश्वव्यापी सन्देश दिन मद्दत पुग्ने दाबी गरेको छ। सम्मेलनमा राजनीतिक, धार्मिक, शान्ति, विकास, सुशासन र सांसदको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिकालगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ। सम्मेलनको नारा 'विश्वका गम्भीर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य-मान्यता' राखिएको छ।

आयोजक समितिका संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एसिया प्रशान्त क्षेत्रका विद्यमान चुनौतीलाई सामना गर्ने सन्दर्भमा गौतम बुद्धको जन्मस्थल नेपालमा यो सम्मेलन हुनुको विशेष महत्व रहेको जिकिर गर्नुभयो।

सम्मेलनका लागि म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, छिमेकी भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथि काठमाडौं आएका छन्। यस क्रममा सु की र सेनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीलगायतसँग भेटवार्ता गरेका छन्।

गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रम भए पनि सम्मेलनका सहभागीका लागि सरकारले ५५ लाख रुपैयाँ बजेट छुट्याएको छ।

जानकारी तथा लेखहरु