फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आतंकवाद नै विश्वशान्तिको बाधक रहेको एसिया र प्रशान्त क्षेत्रका नेताहरूको भनाइ

(GMT+08:00) 2018-12-02 14:24:11

एसिया र प्रशान्त क्षेत्रका नेताहरूले आतंकवाद र अतिवाद नै विश्वशान्तिको बाधक रहेको बताएका छन्। कट्टरपन्थी धारकै कारण विश्वमा गरिबी र अशिक्षा निर्मूल पार्न नसकिएको उनीहरूले चर्चा गरे। ठूला तथा शक्ति मुलुकले साना माथि गर्ने अप्रत्यक्ष शासन समेत बाधक भन्दै त्यसको अन्त्यका लागि अल्पविकसित र विकासोन्मुख मुलुकहरूबीच सहकार्य अपरिहार्य रहेको नेताहरूले जिकिर गरे। विश्वमै 'विवादित' मानिएको आईएनजीओद्वारा आयोजित एसिया प्रशान्त सम्मेलनको उद्घाटनमा बोल्दै उनीहरूले विश्वशान्तिका लागि नागरिक आकांक्षा र बदलिँदो विश्व परिवेशलाई स्वीकार गर्नुको विकल्प नभएको बताए।

'समस्या समाधान सहकार्यबाट मात्र सम्भव छ,' नेताहरूले आफ्नो सम्बोधनमा छुटाएनन्, 'आतंकवाद, अतिवाद, जलवायु परिवर्तनको असर, मानव तस्करी जालोलगायत विकराल समस्या समाधान एकल प्रयत्नबाट सम्भव छैन।' अन्नपूर्ण पोस्ट अनलाइनका अनुसार सहकार्य र अनुकरणीय कार्यको अनुसरण अहिलेको आवश्यकता रहेको उनीहरूले जोड दिए।

सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले बन्दुकको विश्वास एकाएक मतमा परिणत भएको नेपालको अनुकरणीय उदाहरण विश्वले भुल्न नमिल्ने बताउनुभयो। १० वर्षे सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणले नै बन्दुकमाथि मतको विजय पुष्टि भइसकेको भन्दै नेपाललाई शान्तिको उर्वरभूमिकै रूपमा दरिएको स्पष्ट रहेको उहाँले स्पष्ट पार्नुभयो।

म्यान्मारका विदेशमन्त्री आङसाङ सू चीले पनि विश्वशान्तिमा जोड दिँदै यस क्षेत्रको महत्व विश्वले बुझ्दै आएको बताउनुभयो। 'दिगो विकास र शान्ति स्थापनाका लागि एसिया प्रशान्त क्षेत्रसँगको पश्चिमा सहकार्य अपरिहार्य छ। विश्व नै सहकार्यमा अघि बढ्नुपर्छ,' उहाँले भन्नुभयो।

सम्मेलनमा ३४ वर्षदेखि लगातार शासनमा रहेका कम्बोडियाका प्रधानमन्त्री हुन सेनले विश्व अझै खुला हुन नसकेको भन्दै विकासमा सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो। शासन प्रणाली सबैको आआफ्नै हुने भन्दै कुनै मुलुकमा रहेको शासन प्रणाली अर्कोले अवलम्बन गर्न नपर्ने र विकासका लागि सहकार्य गर्न सक्ने उहाँले बताउनुभयो। ।

भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले आतंकवाद विश्वकै समस्या रहेको चर्चा गर्नुभयो। पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफराजा गिलानीले पनि शान्ति र विकासका लागि आतंकवाद प्रमुख चुनौती बन्दै गएकोमा दुःख व्यक्त गर्नुभयो।

उहाँले चीनले अघि बढाएको 'बेल्ट एन्ड रोड इनिसियटिभ्स' प्रयासले पनि यस क्षेत्रको महत्व बढाएको बताउनुभयो। बन्दरगाह, आर्थिक क्षेत्र तथा सम्पर्क सञ्जालको विकास गरेर पूर्वीय शक्तिको उद्गार गरेको उहाँले चर्चा गर्नुभयो। फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदोले विश्व शान्तिका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताउनुभयो। सामोआका राष्ट्रप्रमुख अफिओगा भालेतोआ सुआलौभी द्वितीयले सम्मेलनलाई सामूहिक प्रयत्नको एक उदाहरण भन्दै सहकार्यमा जोड दिन सबैलाई आग्रह गर्नुभयो।

जानकारी तथा लेखहरु