फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय ग्रेट हिमालयन महोत्सव पोखरामा आयोजना हुने

(GMT+08:00) 2018-12-02 14:28:05

पाँचौँ अन्तर्राष्ट्रिय ग्रेट हिमालयन महोत्सव आगामी मङ्सिर २४ देखि २६ गतेसम्म पोखरामा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा महोत्सवको पाँचौँ संस्करण गर्न लागेको जानकारी दिइएको छ ।

सो अवसरमा हिमाली क्षेत्रका समुदायको परम्परागत सांस्कृतिक नाचगान र झाँकीसहित खेल पर्यटनको पनि विकास गर्ने उद्देश्यले एशियाकै म्याराथन नायक बैकुण्ठ मानन्धरको नाममा 'एनएमए बैकुण्ठ मानन्धर हिमालयन म्याराथन' समेत आयोजना गरिने भएको छ। महोत्सवमा विज्ञान, प्रविधि, खानाका परिकार, सूचना केन्द्र, विभिन्न पर्यटकीय वस्तुसहितका ३० भन्दाबढी व्यावसायिक कक्ष रहनेछन्। गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, थकाली तामाङलगायतका अन्य जनजाति तथा समुदायका सांस्कृतिक नाच तथा खानका परिकारलाई समेत प्रतिस्पर्धात्मकरुपमा राखिनेछ।

कार्यक्रममा लोपोन्मुख 'तारो हान्ने छेलो हान्ने' खेल तथा बोल्डरिङ क्लाइम्बिङसमेत समावेश गरिएको छ। नेपाल पर्यटन बोर्ड प्रमुख प्रायोजक तथा १२ भन्दाबढी संस्थाको सहयोग रहेको महोत्सवमा ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी सहभागी हुने अपेक्षा गरिएको छ। सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घअन्तर्गतको संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्गठनले प्रत्येक वर्षको डिसेम्बर ११ तारिखलाई अन्तर्राष्ट्रिय पर्वतीय दिवसका रुपमा मनाउने घोषणा गरेदेखि सङ्घले यो दिनलाई महोत्सवका रुपमा मनाउँदै आएको छ।

जानकारी तथा लेखहरु