फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रारामा ह्वीलचियर दौड प्रतियोगिता

(GMT+08:00) 2018-12-04 16:48:28

रारा ताल परिसरमा हिजो सोमबार बेग्लै उमंग थियो। सधैं सांगहरूको जमघट हुने रमणीय स्थलमा अपांगता भएका व्यक्तिहरूको बाक्लो उपस्थिति थियो। अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारेर रारामा ह्वीलचियर दौड प्रतियोगिता आयोजना गरिएको कान्तिपुर अनलाइनले लेखेको छ। एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै थिए, देशका विभिन्न जिल्लाबाट ह्वीलचियरसहित आएका २९ खेलाडी।

अपांगता भएका व्यक्ति रारा पुग्न सक्दैनन् भन्ने सोच चिर्दै रारा पुगेका उनीहरूले 'हामी सक्षम छौं' भन्ने सन्देश दिए। विभिन्न जिल्लाका १० महिला र १९ पुरुष खेलाडी गमगढीमा शनिबार ह्वीलचियर बास्केटबल खेलेर रारा पुगेका हुन्। कार्यक्रम संयोजक किशोरबहादुर शाहीका अनुसार उनीहरू ह्वीलचियरमै रारा पुगेका हुन्। 'कार्यक्रमले सबैलाई सकारात्मक सन्देश दिएको छ,' उहाँले भन्नुभयो। उहाँका अनुसार काठमाडौंबाट रारा पुग्न ७२ घण्टा लागेको थियो। पहिलोपटक रारामा ठूलो संख्यामा अपांगता भएका व्यक्तिहरू भेला भएर दिवस मनाएको उहाँले बताउनुभयो।

राराका पर्यटन पूर्वाधार अपांगमैत्री बनाइनुपर्ने माग खेलाडीहरूले राखेका छन्। 'अप्ठेराको सामना गर्दै रारा पुगेर दिवस मनाइयो,' खोटाङका सुपर राईले भन्नुभयो, 'हामीले अरू अपांगता भएका व्यक्तिलाई पनि रारा आउन मनोबल बढाएका छौं।' उहाँले आफूहरू संसारभर घुम्न सक्षम रहेको बताउनुभयो। उहाँले यो कार्यक्रमले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याएको जनाउनुभयो।

अपांगमैत्री पूर्वाधार नभए पनि रारा आएर आफूहरूले सकारात्मक सन्देश प्रवाह गरेको राष्ट्रिय अपांग महासंघकी सदस्य देवी आचार्यले बताउनुभयो। 'अपांगसम्बन्धी नीतिनियम छन् तर कार्यान्वयन शून्य छ,' उहाँले भन्नुभयो, 'हाम्रो आँट छ, हामी पनि पढेलेखेका छौं तर सरकारले सौतेनी व्यवहार गरिरहेको छ।' उहाँले रारा आएर अपांगता भएका व्यक्तिले सक्षमताको सन्देश दिएको बताउनुभयो। देशमा धेरै व्यवस्था फेरिँदा पनि आफूहरूको अधिकार नआएको उहाँको गुनासो छ। राराको सुन्दरता देखेर उनीहरू रमाए।

ह्वीलचियर गुडाउँदै अधिकांशले सेल्फी लिए। 'रारा साँच्चैको स्वर्ग रहेछ,' सिन्धुलीकी सोनिका ढकालले भन्नुभयो, 'राराको सुन्दरताको भरपुर आनन्द लियौं।' उहाँले सबै नेपाली एक पटक रारा आउनुपर्ने बताउनुभयो। ह्वीलचियरमा रारा पुगेकी बैतडीकी १७ वर्षीया निर्मला भण्डारीले राराको प्राकृतिक सुन्दरतालाई सरकारले सदुपयोग गर्न नसकेको गुनासो गर्नुभयो। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णबहादुर सेजुवालका अनुसार ह्वीलचियरबाट रारा पुगेका अपांगता भएका खेलाडीलाई हौसला दिन र पर्यटन प्रवद्र्धन गर्न दौड आयोजना गरिएको हो। दौडमा महिलातर्फ सुशीला शाही प्रथम, सोनिका ढकाल दोस्रो र झरना घिमिरे तेस्रो भएका छन्।

पुरुषतर्फ विष्णुपुकार श्रेष्ठ प्रथम, लक्ष्मण राना दोस्रो र सूर्य अधिकारी तेस्रो भए। गमगढीमा आयोजना गरिएको दुईदिने ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको पुरस्कारसमेत रारामै वितरण गरिएको छ।

जानकारी तथा लेखहरु