फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारद्वारा सचिवहरूको विदेश भ्रमणमा कडाइ

(GMT+08:00) 2018-12-04 16:48:53

नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सचिवहरूको विदेश भ्रमणमा कडाइ गरेको छ। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय र संवैधानिक आयोगलाई लिखित सर्कुलर गरी अनावश्यक भ्रमण स्वीकृत नगर्न र विदेश भ्रमणमा रहेका कर्मचारीको विवरण पेस गर्न निर्देशन दिएको कान्तिपुर अनलाइनले लेखेको छ।

मन्त्रालय र जिम्मेवार निकायका प्रमुख व्यक्ति (सचिव) पटक–पटक लामो समय विदेश भ्रमणमा जाँदा दैनिक कार्यसम्पादन र मन्त्रालयले गर्नुपर्ने महत्त्वपूर्ण काम अवरुद्ध हुने क्रम बढेपछि कडाइ गरिएको हो। 'प्रधानमन्त्रीज्यूले सचिवहरूलाई विदेश भ्रमणमा प्राथमिकता नदिन निर्देशन दिनुभएको छ,' प्रधानमन्त्री कार्यालयका एक सचिवले भने, 'मन्त्रालयहरूको प्रगति छलफल कार्यक्रममा उहाँले सबैलाई सचेत गराउनुभएको थियो।'

गत साता तीन दिन भएको मन्त्रालय र मन्त्रिपरिषद् मातहत कार्यालयको प्रगति छलफलमा प्रधानमन्त्रीले मन्त्रालयका वरिष्ठ अधिकारीले नै विदेश भ्रमणमा बढी समय खर्चिंदा कार्य सम्पादन प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि विदेश जाने तयारीमा रहेका केही सचिवले भ्रमण रोकेका छन्। जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष मुलुकको २४ औं सम्मेलन (कोप २४) मा जान तयारी पूरा गरेका वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले भ्रमण स्थगित गर्नुभएको छ।

उहाँ वन तथा वातावरणमन्त्री शक्ति बस्नेतसँगै शनिबार पोल्यान्डको क्याटाबिस जाने कार्यक्रम थियो। क्याटाबिसमा मंसिर १९ मा इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिज (आईडीएस) ले गर्ने प्रविधि, वित्त र क्षमता अभिवृद्धि कार्यक्रममा सचिव ओलीले सम्बोधन गर्ने कार्यक्रमको तालिकासमेत यूएनएफसीसीसीले आफ्नो वेबसाइटमा राखेको छ।

जानकारी तथा लेखहरु