फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चक्रपथ निरीक्षणका लागि चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउने

(GMT+08:00) 2018-12-06 16:39:33

चिनियाँ सहयोगमा निर्माणको अन्तिम चरणमा पुगेको चक्रपथको निरीक्षणका लागि उच्च चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउने भएको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको चक्रपथको निरीक्षणका लागि चिनियाँ प्रतिनिधिमण्डल यही मङ्सिर २२ गते आउन लागेको चक्रपथ सुधार परियोजनाले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

परियोजनाका प्रमुख सुजन खनालले चक्रपथको अन्तिम निरीक्षण तथा अवलोकनका लागि चिनियाँ सरकारका वाणिज्यमन्त्रीको नेतृत्वमा प्राविधिकसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिवार काठमाडौँ आउन लागेको जानकारी दिनुभयो। प्रतिनिधिमण्डल आउनेबारे औपचारिक जानकारी चक्रपथ सुधार परियोजनालाई प्राप्त भइसकेको उहाँले बताउनुभयो।

"चक्रपथ निरीक्षणको क्रममा प्रतिनिधिमण्डलले निर्माणबारे सुझाव दिनुका साथै कमीकमजोरीलाई समेत औँल्याउन सक्छ" आयोजना प्रमुख खनालले प्रतिनिधिमण्डलले कमीकमजोरी देखाएको अवस्थामा प्रतिनिधिमण्डलको सुझावअनुसार चक्रपथमा फेरि सुधार गरिने जानकारी दिनुभयो।

कमीकमजोरी नदेखाएको अवस्थामा अहिलेकै निर्माण कार्य तथा डिजाइनलाई सदर गरी नेपाल सरकारलाई चक्रपथ हस्तान्तरणको मिति तय गरिने जानकारी परियोजना प्रमुख खनालले दिनुभयो। एक भव्य कार्यक्रमको आयोजना गरी उक्त चक्रपथ चीनले नेपाल सरकारलाई हस्तान्तरण गरिने जानकारी समेत उहाँले दिनुभयो। कोटेश्वरदेखि कलङ्कीसम्म निर्माण गरिएको उक्त चक्रपथको डिजाइनसमेत चिनिया प्राविधिकले नै गरेको छ।

सम्झौता अनुसारको निर्माण कार्य चिनिया निर्माण कम्पनीको तर्फबाट सम्पन्न भइसकेको जानकारी दिंदै परियोजना प्रमुख खनालले नेपाल सरकारको तर्फबाट सर्भिस ट्रयाक, आकाशे पुल लगायतका निर्माण कार्य जारी रहेको बताउनुभयो। कलङ्कीको अन्डरपासको निर्माण कार्य समेत सम्पन्न भइसकेको जानकारी उहाँले दिनुभयो।

तत्कालिन चिनिया राष्ट्रपति हु जिन्ताओको नेपाल भ्रमणका बेला चक्रपथ बिस्तारका लागि नेपाल सरकारले औपचारिक प्रस्ताव गरेको थियो। सोही प्रस्ताव अनुरुप चीन सरकारबाट प्राप्त ३१ करोड २० लाख युआन (करीब तीन अर्ब ७५ करोड नेपाली रुपियाँ) को अनुदान सहयोगमा चक्रपथ बिस्तार भएको हो। निर्माणका लागि १८ डिसेम्बर २०१२ मा तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालय र चीनको सङ्घाई कन्सट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच सम्झौता भएको थियो।

यो 'अन्डरपास' को सञ्चालनपछि नागढुङ्गातर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधानहरु अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन्। त्यसैगरी, चक्रपथ घुम्ने सवारी साधनहरु जक्सनमा अवरोध नहुने गरी 'अन्डरपास' भएर जानेछन्।

त्यसैगरी, खसी बजारबाट आउने नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङगा र कालिमाटीतिर जानका लागि दुई÷दुई लेनको 'सर्भिस ट्रयाक' निर्माण गरिएको छ। कलङ्कीको सम्पूर्ण संरचना तयार भइसकेपछि त्यहाँ आकाशे पुलको आवश्यकता नपर्नुका साथै सो क्षेत्रमा सवारी साधन जाम नहुने विश्वास गरिएको छ।

निर्माणाधिन कोटेश्वर–कङ्लकी सडकखण्ड अन्तर्गत थप छ स्थानमा आकाशे पुल निर्माण हुने भएको छ। सो सडकखण्डको मात्र तीन स्थानमा आकाशे पुल निर्माण गर्ने सम्झौता चिनियाँ कम्पनीसँग भएको थियो। सम्झौताअनुसार बागडोल, कोटेश्वर, ग्वार्कोमा आकाशे पुल निर्माण भइसकेको छ।

द्रुत गतिमा सवारी साधनको आवागमन हुने उक्त सडकमा पैदल यात्रुलाई बाटो काट्न प्रर्याप्त मात्रामा आकाशे पुल नभएकाले थप स्थानमा आकाशे पुल निर्माण गरिने जानकारी परियोजना प्रमुख खनालले दिनुभयो। प्रस्तावित थप आकाशे पुलहरु नेपाल सरकारले आफ्नो लगानीमा निर्माण गर्नेछ।

जानकारी तथा लेखहरु