फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आइतबार

(GMT+08:00) 2018-12-06 16:40:15

नेपालको संसदीय सुनुवाइ समितिले प्रस्तावित चारजना राजदूतहरूको आउँदो आइबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ। समितिको बुधबारको बैठकले प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको गोरखापत्र अनलाइनले लेखेको छ। शुक्रबार समितिले राजदूत नियुक्तिका विषयमा समावेशी नभएको भन्दै दर्ता उजुरीमा उजुरीकर्तासँग छलफल गर्नेछ। प्रस्तावित राजदूतविरुद्ध भने कुनै पनि उजुरी दर्ता भएका छैनन्।

सङ्घीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले प्रस्तावित राजदूतलाई सुनुवाइका लागि बोलाउने निर्णय भएको बताउनुभयो। घिमिरेले भन्नुभयो, 'मङ्सिर २३ गते प्रस्तावित चारै जना राजदूतलाई सुनुवाइका लागि बोलाउने निर्णय भएको छ। त्योभन्दा अघि शुक्रबार उजुरीकर्तालाई छलफलका लागि आमन्त्रण गर्ने निर्णय भएको छ।'

गत कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार देशका लागि राजदूत सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले पूर्वमन्त्री समेत रहनुभएका नीलाम्बर आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गरेको थियो। आचार्यलाई अफगानिस्तान र भुटानको गैरआवासीय राजदूतका रूपमा समेत काम गर्ने गरी सिफारिस गरिएको हो।

यस्तै, मन्त्रिपरिषद्ले पूर्वराजदूत समेत रहनुभएका उदयराज पाण्डेलाई मलेसियाको राजदूतमा सिफारिस गरेको थियो। पाण्डेलाई इन्डोनोसियाको गैरआवासीय राजदूतको पनि जिम्मेवारी दिइएको छ। यस्तै, सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई यूएईका लागि राजदूतमा सिफारिस गरेको छ।

इजरायलका लागि आवासीय र साइप्रसमा गैरआवासीय राजदूतको जिम्मेवारीमा रहनुभएका निरञ्जनकुमार थापालाई फिर्ता बोलाउँदै सरकारले नयाँ राजदूत सिफारिस गरेको हो। सरकारले थापाको स्थानमा डा. अञ्जान शाक्यलाई सिफारिस गरेको छ। नेपालको संविधानको धारा २९२ अनुसार नियुक्तिपूर्व राजदूतहरूको संसदीय सुनुवाइ हुने व्यवस्था छ। सुनुवाइ समितिले सिफारिस अनुमोदन गरेमा नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ। समितिको दुईतिहाइले प्रस्तावित व्यक्तिलाई अस्वीकृत गर्न सक्नेछ। समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको ४५ दिनभित्र स्वीकृत वा अस्वीकृतको जानकारी सुनुवाइका लागि पत्राचार गर्ने निकायलाई दिनु पर्नेछ।

यसैबीच समितिले राजदूत नियुक्तिको मापदण्ड तथा भूमिकाबारे छलफल गर्न पाँच पूर्वराजदूतहरुलाई समितिमा आमन्त्रण गर्ने निर्णय गरेको छ। समितिले शुक्रबार पाँच पूर्वराजदूतलाई छलफलमा बोलाएको हो। समितिको निर्णय अनुसार पूर्वराजदूतहरू पुष्करमानसिंह राजभण्डारी, रामभक्त पी बी ठाकुर, प्रह्लाद प्रसाईँ, रुद्रकुमार नेपाल र निरञ्जनमानसिंह बस्नेतलाई समितिमा बोलाएको हो। समितिले राजदूतले पूरा गर्नुपर्ने भूमिका लगायतका विषयमा अनुभाव साट्नका लागि भन्दै छलफलमा बोलाएको हो।

जानकारी तथा लेखहरु