फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कमललाई नयाँ रुपमा निर्माण गरिने

(GMT+08:00) 2018-12-06 16:40:37

काठमाडौं महानगरपालिकाले कमलपोखरीलाई पर्यटकीय आकर्षणका हिसाबले साजसज्जा गर्ने भएको छ। महानगर अन्तर्गतको सहरी योजना आयोगले यसको डिजाइनबारे स्थानीयवासी र सरोकारवालासँग छलफल गरिसकेको र टेन्डर आह्वान गर्ने क्रममा रहेको जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

२३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमलपोखरीलाई नेपाली इँटा र दर्जिन ढुंगाको प्रयोगले सजाउने महानगरको तयारी छ। आयोगका सदस्य सचिव सरोज बस्नेतले डिजाइन तयारी भइसकेको र वरपरका संरचना भत्काएपछि त्यहाँका संस्थालाई दिइने विकल्पबारे छलफल भइरहेको बताउनुभयो।

महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले केही वर्षअघि उपत्यका विकास प्राधिकरणले सफा गरी पर्खाल बनाइदिए पनि त्यतिले मात्र नपुग्ने भएर पर्यटकीय हिसाबले आकर्षक बनाउन लागिएको बताउनुभयो। 'सहरी योजना आयोगको इस्टिमेट अनुसार हेर्दा यसमा ७/८ करोड खर्च लाग्ने भएको छ।

अहिले आकाशे पानीको भरमा छ तर अब मेलम्चीबाट आउने पानीलाई प्रयोग गर्ने योजनामा छौं,' उहाँले भन्नुभयो। बोरिङ गर्दा राम्रो पानी नआउने भएकाले मेलम्चीको आसमा रहेको उनले बताए। उपत्यकाकै विभिन्न स्थानमा पुननिर्माणपछि पोखरी सुकेकाले कमलपोखरी साजसज्जाका क्रममा सावधानी अपनाइने उहाँको भनाइ छ। पुनर्निर्माणमा छेउछाउका संरचना भत्काउने, सिमेन्ट प्रयोग गरिने, रुख रोपिने भए पनि पोखरीको पानी नसुकोस् भन्न पानी नचलाइने उहाँले जानकारी दिनुभयो। पोखरीको चारै कुनामा स–साना कमल फुल्ने पोखरी रहनेछन्।

हरियाली प्रवद्र्धन गरी पार्कका रूपमा विकास गर्ने तयारी छ। पोखरीको केन्द्रमा पाटी तथा छेउमा ढुंगेधारा बनाउने र 'सेमि कभर्ड एरिया' समेत राखिनेछ। घाट वा पोखरीका सिँढी पनि व्यवस्थित हुनेछन्। 'पर्यटकमैत्री शौचालय पनि हुनेछ। त्यहीँ छेउमा सानो घर बनाई क्लबलाई दिनेछौं,' वडाध्यक्ष श्रेष्ठले भन्नुभयो। राति रंगीबिरंगी प्रकाशले पोखरीको सौन्दर्यलाई झनै बढाउने उहाँको भनाइ छ।

आयोगका सदस्य सचिव बस्नेतले यसको डिजाइनमा वास्तुशास्त्रीसँग पनि सल्लाह लिइएको बताउनुभयो। समय व्यतीत गर्ने हिसाबले निर्माण गरिने भएकाले सौन्दर्यीकरणका साथै 'फुट स्टल' पनि राखिनेछ। उहाँले भन्नुभयो, 'पानी सफा र फिल्टर गर्न विज्ञसँग कुरा गरिरहेका छौं। कोण मिलाएर संरचना बनाइनेछ, जसले वास्तुशास्त्र सिक्नेलाई पनि सहयोग हुनेछ।'

पछिल्लो आठ वर्षदेखि यहाँ छठ मनाइँदै आएको छ। महानगर मेयर विद्यासुन्दर शाक्यले सकभर आगामी वर्षको छठसम्ममा निर्माण सकिनेगरी काम हुने बताउनुहुन्छ। केही अवरोध नआए डिजाइन स्वीकृत भएपछि निर्धारित समयभित्रै सकिने उहाँको भनाइ छ। 'निर्माणपछि यसको स्वरूप नै फेरिनेछ,' मेयर शाक्यले सोमबार आयोगमा आयोजित डिजाइनमाथिको छलफल कार्यक्रममा भन्नुभयो, 'पोखरीको अस्तित्व जोगाउँदै अघि बढौं। सबैले सहमतिका साथ अघि बढे चाँडै निर्माण सकिन्छ।'

कार्यक्रममा काठमाडौं ४ का सांसद गगन थापा र प्रदेश सांसद नरोत्तम वैद्यले पनि योजनाप्रति सकारात्मक रहेको बताउनुभयो। आयोगको प्रस्तुतिपछि सांसद थापाले भन्नुभयो, 'यस क्षेत्रमा महानगरले राम्रो योजना ल्याएकोमा धन्यवाद। हामी सँगै मिलेर काम गरौं।'

मत्स्य विकास केन्द्रको स्वामित्वमा भए पनि २०/२५ वर्षदेखि वास्ता नगरेको स्थानीयको गुनासो भएकाले त्यस विषयमा विवाद आए आफूले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो। प्रदेश सांसद वैद्यले हरियाली व्यवस्थापन गर्न कठिनाइ हुने धारणा राख्दै भविष्यमा आयोजना हुने राजनीतिक कार्यक्रमलाई मध्यनजर गर्दै त्यसै अनुसारका संरचनासमेत राख्नुपर्ने सुझाव दिनुभयो।

कमलपोखरी संरक्षण एवं जनहित समाजका महासचिव राजेन्द्र सिंहले आगामी वर्षको छठसम्म निर्माण सकिनेगरी निर्माण गरिने बताउनुभयो। 'पोखरीभित्र ढलान नगर्न भनेका छौं। अहिले त्यहाँभित्रको फोहोर व्यवस्थापन पनि समस्या हो,' सिंहले भन्नुभयो, 'त्यहाँ रानीपोखरीको माछालाई खुवाउने सामान कुहिएर गन्हाउने भएको छ। फोहोर पानीको उचित निकास हुनुपर्छ।' सफा गरे पनि हरियो लेदो नजाने भएकाले पोखरी पुनर्निर्माणसँगै नयाँ पानी फेर्नुपर्ने उहाँको सुझाव छ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीले ४ रोपनी ४ आना जग्गा प्रयोग गरेको छ। त्यसलाई र सँगै लालपुर्जा बिनाको जग्गामा संरचना बनाई बसिरहेको ट्राफिक प्रहरीलाई हटाउँदा विकल्प दिन उपयुक्त स्थानबारे निर्णय भइसकेको छैन। आयोगले पनि यो समस्या रहेको स्विकार्दै चाँडै निक्र्यौल गरिने बताएको छ।

जानकारी तथा लेखहरु