फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केरुङ काठमाडौँ रेलमार्गको प्रतिवेदन आगामी साता बुझाइने

(GMT+08:00) 2018-12-07 15:38:02

प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउन उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आउँदो साता नेपाल आउने भएको छ। उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आइतबार नेपाल आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

मन्त्रालयका सहसचिव केशवकुमार शर्माले केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउन तथा प्रस्तावित उक्त रेलमार्ग निर्माणबारे विस्तृत् छलफल गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार नेशनल रेल्वे अथोरेटी चाइनाको उपप्रशासक आन लुसुङको नेतृत्वमा प्राविधिक टोली नेपाल आउन लागेको हो।

प्रतिनिधिमण्डलले सिंहदरबारस्थि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार आयोजना ह्ुने कार्यक्रमबीच प्रस्तावित उक्त रेलमार्गबारे गरिएको प्रारम्भिक अध्ययनको प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्नुका साथै आगामी दिनमा उक्त परियोजनालाई के कसरी अगाडि बढाउनेबारे सचिवस्तरीय बैठक हुने जानकारी सहसचिव शर्माले दिनुभयो।

बैठकमा रेलमार्गको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण, मोडेल लगयातको विषयमा बृहत् छलफल हुने बताउँदै उहाँले बैठकपछि प्रतिनिधिमण्डलले प्रस्तावित उक्त रेलमार्ग क्षेत्रको स्थलगत भ्रमण गर्नुहुने कार्यक्रम तय भएको जानकारी दिनुभयो। मङ्सिर २८ गते चिनियाँ प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम रहेको उहाँले बताउनुभयो।

उक्त रेलमार्ग निर्माणबारे छलफल गर्न यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुईपटक चीन पुगी छलफल गरिसकेका छन् भने चिनियाँ प्रतिनिधिमण्डल नेपाल आइसकेका छन्।

चिनियाँ प्रतिनिधिमण्डल दोस्रोपटक नेपाल आउन लागेको हो। जेठ ६ गते नेपाल आएका चिनियाँ प्राविधिक अधिकारीहरुले रेल विभागको संयोजकत्वमा उक्त रेलमार्गको प्रारम्भिक अध्ययन शुरु गरेका थिए।

रसुवागढीदेखि काठमाडौंसम्म करीब एक सय किलोमिटर लामो हुने नेपाल चीन जोड्ने प्रस्तावित उक्त रेलमार्ग चीनको सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्ने बताइएको छ। एक घण्टाको समयमा नै रसुवागढीबाट काठमाडौँ आइपुग्ने उक्त रेलमार्गमा भौगोलिक विकटताका कारण सुङ्गमार्ग र पुलको सङ्ख्या बढी हुने छ। चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटको रिपोर्टअनुसार प्रस्तावित यस रेलमार्गमा ९८.५५ प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनुपर्ने हुन्छ। यो रेलमार्ग निर्माणका लागि नौ वर्ष र दुई खर्ब ५७ अर्ब रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा समेत केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे उच्चस्तरीय छलफल गर्नुभएको थियो। त्यसैगरी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन भ्रमणको क्रममा अनुदानमा उक्त रेलमार्ग निर्माण गरिदिन चिनियाँ अधिकारीहरु समक्ष प्रस्ताव गर्नुभएको थियो।

यसअघि तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महराले २०७४ सालको भदौमा गर्नुभएको चीन भ्रमणको क्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र विदेशमन्त्री वाङ यीलगायतका नेतासँग उक्त रेलमार्ग निर्माणका बारेमा विस्तृत छलफल गर्नुभएको थियो।

जानकारी तथा लेखहरु