फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँको बबरमहलमा अत्याधुनिक जेब्राक्रसिङ बनाइने

(GMT+08:00) 2018-12-07 18:56:31

बबरमहलस्थित काठमाडौं जिल्ला अदालत र विशेष अदालतको बीच सडकमा विशेष खालको आधुनिक जेब्राक्रसिङ बन्ने भएको छ। पैदलयात्रुलाई बाटो काट्न सहज हुने गरी चालकले टाढैबाट थाहा पाउने संकेतसहितको जेब्राक्रसिङ बनाउन लागिएको हो। यसका लागिसडक विभाग र यातायात विभागले सहकार्य गर्ने कान्तिपुर अनलाइनले लेखेको छ।

महानगरलाई 'स्मार्ट सिटी' बनाउने गुरुयोजनाअन्तर्गत माइतीघर–तीनकुने सडक खण्डलाई पैदलयात्रुमैत्री बनाउन बबरमहलमा अत्याधुनिक जेब्राक्रसिङ राख्न लागिएको हो। महानगरअन्तर्गत सहरी योजना आयोगको विज्ञ टोलीले स्थलगत अध्ययन गरी पैदलयात्रुको धेरै आवतजावत हुने स्थानहरू नयाँबानेश्वर र तीनकुनेको पनि पहिचान गरेको छ।

'बाटो काट्न आकाशेपुल बनाउने पुरानो अवधारणालाई हटाउँदै आधुनिक अवधारणा भित्र्याउन खोजेका छौं,गुरुआयोजना निर्माणका फोकलपर्सन सुशील सुवेदीले भन्नुभयो। आकाशेपुल ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अपांगमैत्री नहुने भएकाले विकल्पमा आधुनिक जेब्राक्रसिङ बनाउन लागिएको महानगरले जनाएको छ।

यसअनुसार सडक वरिपरि हरियाली बनाउन रुखबिरुवाको स्याहार संरक्षण गर्ने तथा वृक्षरोपण गरिनेछ। सुवेदीले एउटै योजनामा वर्षौंसम्म खुद्रे बजेट खर्च गर्ने, पटक–पटक डिजाइन परिवर्तन गर्ने र विकासमा कछुवा गतिको प्रवृत्ति अन्त्यका लागि बहुआयामिक गुरुयोजना बनाउन थालिएको बताउनुभयो।

अधिकांश गुरुयोजनाहरू निर्माण सुरु भएको एक वर्षभित्र सम्पन्न हुने खालका छन्। वैशाखदेखि गुरुयोजना अध्ययन थालेको सहरी आयोगले हालसम्म ११ योजना सम्पन्न गरेर मूल्यांकन तथा टेन्डर प्रक्रियाका लागि मेयर विद्यासुन्दर शाक्यकहाँ फाइल पुर्‍याएको छ।

गुरुयोजनामा माइतीघर–तीनकुने खण्डलाई पैदलयात्रुमैत्री बनाउने योजनासहित कमलपोखरी संरक्षण, भाटभटेनी सत्तल पुनर्निर्माण, ब्रह्मचकुमहाविहार सुधार योजना, ढ्यालखु पाटी पुनर्निर्माण, चेसपार्क विकास, अशोक चैत्य विकास योजनालगायत छन्। भूकम्पले जीर्ण भएका तथा पुराना संरचना पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको छ।

यसैगरी एक दर्जन बढी गुरुयोजना तयारीको अन्तिम चरणमा छन्। स्मार्ट सार्वजानिक शौचालय निर्माणका लागि महानगर क्षेत्रभित्रका ५८ क्षेत्र पहिचान भएका छन्। यसअनुसार महिला,पुरुष, बालबालिका तथा अपांगमैत्री शौचालय बनाइनेछन्।

जसमा बच्चाहरूको डाइपर फेर्न, महिनावारी भएका महिलालाई प्याड फेर्न मिल्ने बनाइनेछ। खुल्ला क्षेत्र संरक्षणका लागि ९४ स्थान पहिचान गरिएको छ। यसका लागि सम्बन्धित ३२ वटै वडाले समेत अध्ययन गरेका छन्। खुल्ला स्थानमा सुविधायुक्त पार्क बनाइनेछन्। यस्तै, सिलखाना पार्क योजना तथा जेष्ठ नागरिक पार्क योजनाका विषयमा पनि अध्ययन भइरहेको महानगरले जनाएको छ।

वसन्तपुरदेखि स्वयम्भूसम्मको सम्पदा पदमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने पनि गुरुयोजनामा समेटिएको छ। ३२ वटै वडाका कार्यालय एकै डिजाइनमा मौलिक शैलीका बनाउने, करिडोर तथा मन्दिर/पार्क संरक्षण गर्ने योजना पनि अघि सारिएका छन्। विष्णुमती, धोबीखोला, मनोहरा तथा वाग्मती करिडोरमा हरेक ५ सय मिटरको फरकमा 'फुटब्रिज' बनाइनेछन्। चालु आर्थिक वर्षमा महानगरले बनाएको नीति तथा कार्यक्रममा पनि यसलाई उल्लेख गरिएको छ।

यसैगरी साबिकका पुल सुधार गर्ने, पार्क बनाउने, फुटपाथ बढाउने योजना करिडोर अन्तर्गतका गुरुयोजनामा समेटिएका छन्।गुरुयोजना कार्यान्वयनमा समस्या आउन नदिन युवापुस्ता, स्थानीय जनप्रतिनिधि, क्लब, संघसंस्था, विज्ञ व्यक्ति, राजनीतिज्ञ तथा सरोकारवाला पक्षलाई समेटेको महानगरले बताएको छ।

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तर्फ ३ अर्ब ७० करोड ९० लाख बजेट विनियोजन भएको छ। महानगरका मेयर शाक्यले गुरुयोजनालाई जिम्मेवार ढंगले कार्यान्वयन गर्ने बताउनुभयो। 'गुरुयोजना कागजमामात्रै सीमित हुँदैनन्, महानगर गम्भीर भएर कार्यान्वयनमा अघि बढ्छ,' उहाँले भन्नुभयो।

जानकारी तथा लेखहरु