फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका सबै प्रदेशलाई पर्यटन क्षेत्रमा छुट्टै 'ब्रान्ड'ले पहिचान दिलाउने तयारी

(GMT+08:00) 2018-12-13 16:07:11
प्रादेशिक संरचनाअनुसार सबै प्रदेशलाई पर्यटन क्षेत्रमा छुट्टै 'ब्रान्ड'ले पहिचान दिलाउने तयारी गरिएको छ। प्रदेशको पर्यटन प्रवर्द्धनका लागि 'ब्रान्डिङ' आवश्यक भएको सरोकारवालाको भनाइ छ। अहिलेसम्म प्रदेशलाई पर्यटनको नामले चिनाउने कुनै विशेष 'प्रडक्ट' वा 'ब्रान्ड' छैन।

अहिलेसम्म फरक नाममा पर्यटकीय सहर र गन्तव्यको पहिचान हुँदै आए पनि अब प्रदेशलाई नै चिनाउने गरी ब्रान्डिङको तयारी भएको हो। गण्डकी प्रदेशलाई कुन ब्रान्डमा पहिचान दिलाउने भन्नेमा पर्यटन बोर्डसहितका निकायले मंगलबार यहाँका सरोकारवालासँग छलफल चलाएको छ। पहिलो चरणमा गण्डकी प्रदेशबाट पर्यटकीय ब्रान्डिङबारे छलफल सुरु भएको छ।

अहिले गण्डकी प्रदेशलाई ब्रान्डिङ गर्ने एउटै विशेष नाम छैन। साहसिक, प्राकृतिक, पदयात्राको गन्तव्य, ऐतिहासिक तालतलैया, प्राकृतिक स्रोतसाधन, सम्पदा लगायतका विभिन्न नाममा अहिलेसम्म यो प्रदेश चिनिने गरेको छ।

पर्यटनको कुनै गन्तव्यलाई एकपटक ब्रान्डिङ गरेपछि १० वर्षसम्म परिवर्तन नगर्ने चलन छ। आवश्यक ठानेमा दशकपछि मात्र नाम र नारा परिवर्तन गर्न सकिन्छ। नेपाललाई दशकदेखि 'नेचुरल्ली नेपाल, वन्स इज नट इनफ' को नाममा ब्रान्डिङ गरिएको छ। दशकअघि यो नाममा सिंगो नेपालको ब्रान्डिङ भएको थियो। नागरिकन्यूज डटकमका अनुसार पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनमा प्रतिस्पर्धाका लागि ब्रान्डिङ चाहिएको बताउनुभयो। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न पनि प्रदेशको पर्यटकीय ब्रान्डिङ जरुरी रहेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु