फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परराष्ट्र सचिवद्वारा चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता, पैचिङमा चीन-नेपाल परामर्श संयन्त्रको १२औं बैठक

(GMT+08:00) 2018-12-13 17:21:51

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालका परराष्ट्रसचिव शंकरदास वैरागीसँग पैचिङमा भेटवार्ता गर्नुभएको छ। पैचिङस्थित त्याउयुथाइ सभाभवनमा बिहीबार भएको भेटवार्तामा द्वीपक्षीय सम्बन्ध तथा साझा अभिरूचीका विषयमाथि छलफल भएको थियो।

परराष्ट्रमन्त्री वाङ यीले चीन र नेपाल मैत्रीपूर्ण छिमेकी र एकअर्काप्रति सदैव सम्मान तथा सहयोगी भावना भएका मुलुक भएको बताउनुभयो। नेपालसँग उच्चस्तरीय भ्रमण आदान प्रदान गर्न चीन तयार रहेको बताउँदै अर्को वर्ष चीनले आयोजना गर्ने दोश्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड इनिसियटिभ सम्मेलनमा भाग लिनका लागि निमन्त्रणा गर्नुभयो।

नेपाल-चीन परामर्श संयन्त्रको बैठकमा भाग लिन परराष्ट्रसचिव बैरागी टोली पैचिङ आएको हो। चीनका तर्फबाट उप-परराष्ट्रमन्त्री खोङ सुआनयौले चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको थियो। दुवै पक्षले वस्तुगत तथा अर्थपूर्ण छलफल गरेर नेपाल-चीन सम्बन्ध र द्वीपक्षीय सहकार्यको स्थितिबारेमा मतैक्यता जनाएका छन्।

बैठकमा नेपाली पक्षले नेपाल-चीन सहकार्यमा नेपाल सरकारले दिएको प्राथमिकताका विषयबारे चीनसमक्ष जानकारी गराएको छ। चिनियाँ पक्षले नेपालको विकासका लागि सहयोगको इच्छा प्रकट गरेको छ। दुवै पक्षले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका कैयन विषयहरूमाथि पनि चासो प्रकट गरेका छन्।

बैठकमा नेपाली प्रतिनिधिमण्डलमा राजदूत लीलामणि पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश प्रसाद ढकाल, नेपाली दूतावासका मिनिस्टर सुशील लम्साल लगायत सहभागी हुनुहुन्थ्यो।

नेपाल-चीन परामर्श संयन्त्रको अर्को बैठक काठमाडौंमा बस्ने तय भएको छ।

जानकारी तथा लेखहरु