फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनलाई सँगसँगै अघि बढाउने

(GMT+08:00) 2018-12-14 15:26:16
चीनले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनलाई सँगसँगै अघि बढाउने भएको छ। काठमाडौंमा सम्पन्न तेस्रो नेपाल–चीन दुईपक्षीय बैठकमा चिनियाँ टोली काठमाडौं–पोखरा–लुम्बिनीलाई पनि सँगै अघि बढाउन सहमत भएका हुन्।

चार दिन लामो नेपाल भ्रमणमा रहेको चाइना रेल्वे अथोरिटीका उच्चस्तरीय प्रतिनिधिमण्डलले केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको थप अध्ययन गर्न सहमति जनाएको हो। बिहीबार स्वदेश फर्किएको टोलीले केरुङ–काठमाडौं रेलमार्ग पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई बुझाएको छ।

तेस्रो चरणको बैठकले केरुङ–काठमाडौं रेलमार्गको रोडम्याप तयार गर्ने र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको थप अध्ययन गर्ने विषयमा सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले बताउनुभयो।चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययन गर्ने भनेको छ। यो डिपिआर जस्तै गहन र विस्तृत अध्ययन हुने अधिकारीले बताउनुभयो।

आगामी चैत दोस्रो हप्ता (मार्च) भित्रै चौथो चरणको बैठक गर्ने सहमति समेत भएको नागरिकन्यूज डटकमले जनाएको छ। उक्त बैठकमा केरुङ–काठमाडौं रेलमार्गको डिपिआर तयार गर्ने र काठमाडौं–पोखरा–लुम्बिनीको अध्ययन गर्ने विषयमा सहमति हुने अनुमान छ।

नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीसँग सोमबार छलफल गरेपछि उक्त टोलीले पोखरा लुम्बिनीको स्थलगत अध्ययन गरेको थियो। यसअघि गत वर्ष कात्तिकमा आएको चिनियाँ उच्चस्तरीय टोलीले पनि पोखरा र लुम्बिनीको स्थलगत अध्ययन गरेको थियो।

काठमाडौंबाट पोखरा र लुम्बिनी जोड्ने रेलमार्गको एलाइनमेन्ट कहाँबाट हुने भन्ने निक्र्यौल हुन बाँकी छ। काठमाडौंबाट पोखरा हुँदै बुटवल लैजाने कि मुग्लिन क्षेत्रबाट छुटाएर पोखरा र बुटवलका दुई रुट बनाउने भन्ने विषयमा अध्ययन भइरहेको छ।

सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ। अध्ययन अनुसार उक्त रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहुँ हुँदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले गाडीबाट पोखरा पुग्न लाग्ने करिब सात घन्टा लामो यात्रालाई दुई घन्टामा झार्ने अध्ययनले देखाएको छ । मुग्लिन हुँदै बुटवलतिरको रुट भने झन्डै एक सय ३० किलोमिटर हुनेछ।

गत वर्ष कात्तिकमा चिनियाँ उच्च अधिकारीको टोलीको केरुङ–काठमाडौं रेलमार्गको पहिलो स्थलगत अध्ययनपछि तीन चरणको बैठक सम्पन्न भएका छन् । अहिलेसम्म पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको छ भने डिपिआर गर्ने विषयमा छलफल सुरु भएको छ । चिनियाँ कम्पनी चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरेको थियो। पूर्वसम्भाव्यता अध्ययनले केरुङ–काठमाडौं रेलमार्ग बनाउने भूभाग उच्च र विकट भए पनि निर्माण सम्भव रहेको देखाएको छ।

जानकारी तथा लेखहरु