फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अहिलेसम्मकै धेरै पर्यटन नेपालमा भित्रिएपछि पर्यटनक्षेत्र उत्साहित

(GMT+08:00) 2018-12-14 15:33:34
विदेशी मुद्राको सबैभन्दा ठूलो स्रोत मानिने पर्यटन उद्योगमा एउटा खुसीको खबर आएको छ। चालु अंग्रेजी वर्षको पहिलो ११ महिना नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या १० लाख नाघेको छ। हालसम्म सबैभन्दा धेरै पर्यटक गत वर्ष आएका थिए। सन् २०१७ मा ९ लाख ४० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । गत वर्षको पहिलो ११ महिनाको दाँजोमा यस वर्षको पर्यटक वृद्धिदर १६ दशमलव ९ प्रतिशत रहेको छ।

अध्यागमन विभाग तथा पर्यटन बोर्डले जारी गरेको तथ्यांकअनुसार सन् २०१८ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख १ हजार ९ सय ३० जना विदेशीले नेपाल भ्रमण गरेका छन्। बोर्डका अनुसार पहिलो ११ महिनामा आउने कम्तीमा ३१ वटा मुलुकमध्ये सर्वाधिक ५ मुलुकहरूमा क्रमश: भारत, चीन, अमेरिका, बेलायत र जर्मनी रहेका कान्तिपुर अनलाइनले जनाएको छ।

नेपालमा औसत पर्यटकको बसाइ १४ दिन रहेको छ। एक जना पर्यटकले प्रतिदिन ५४ डलर खर्च गर्ने अनुमान गरिन्छ। यस वर्ष डलरको भाउ १ सय १८ सम्म पुगेकाले नेपाली पर्यटन उद्योगको आम्दानी पनि बढेको छ।

नेपाल घुम्न आउने विदेशीहरूले 'अन–अराइभल भिसा' प्राप्त गर्छन्। अध्यागमन विभागले प्रतिमहिनाको ३० डलर शुल्क लिन्छ। भारतीय र चिनियाँ पर्यटकहरूलाई भिसालगायत आगमन शुल्क तिर्नुपर्दैन। पछिल्लो पटक चिनियाँ र भारतीय विमानसहित पर्यटकहरूको आगमनमा पनि प्रतिस्पर्धा देखिन्छ।

संयुक्त राष्ट्रसंघ मातहतको विश्व पर्यटन संगठनका अनुसार कुनै एक स्थानको मानिस अर्को स्थानमा पुगेर कम्तीमा एक रात बिताएपछि पर्यटक मानिन्छ।

जानकारी तथा लेखहरु