फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१८ मा ११ लाख पर्यटकले नेपालको भ्रमण गरे

(GMT+08:00) 2019-01-01 14:25:42

सन् २०१८ मा ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या सन् २०१७ को भन्दा १ लाख ६० हजारले बढी हो। २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक नेपाल आएका थिए। सन् २०१८ मा १२ लाख पर्यटकले नेपाल भ्रमण गर्ने प्रक्षेपण गरे पनि यो वर्ष ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका कारोबार अनलाइनले लेखेको छ।

गत डिसेम्बर २९ सम्मको तथ्यांकअनुसार १० लाख ९७ हजार ५ सय पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपालमा दैनिक २ हजारदेखि ३ हजारको संख्यामा पर्यटक भित्रिएकाले ११ लाख हाराहरी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या नेपालको पर्यटक इतिहासमै धेरै हो। २०११ मा नेपाल सरकारले मनाएको पर्यटन वर्षमा राखिएको १० लाख पर्यटकको लक्ष्य ७ वर्षपछि पूरा भएको हो। सन् २०१६ मा ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल भ्रमण आएका थिए।

नेपाल पर्यटन बोर्ड सोमबारदेखि २० औं वर्षमा प्रवेश गरेको छ। यसै अवसरमा बोर्डले बिभिन्न योजना सार्वजनिक गरेको छ। बोर्डले भ्रमण २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसमेत राखेको छ। बोर्डले प्रबद्र्धनका कार्यक्रम गर्ने घोषणा गरेको छ। भ्रमण वर्ष २०२० प्रवद्र्धनका लागि बोर्डले विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य गर्न लागेको जनाएको छ।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि बीबीसी, रोयटर्स, सीएनएन, तथा अन्य डिजिटल मिडियासँग सहकार्य गरी मिडिया क्याम्पेन गर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो।

भ्रमण वर्ष २०२० का लागि १० हजार जनशक्ति तयार पार्ने तयारी समेत बोर्डले गरिरहेको छ। नेपाल हिमालका लागि गेटवे हो। हिमालयन ट्राभल मार्टमार्फत हिमाली क्षेत्रको प्रवद्र्धन गरिरहे पनि लुम्बिनी लगायतका गन्तब्यको राम्रोसँग प्रचार–प्रसार हुन नसकेको जोशीले बताउनुभयो। उहाँका अनुसार अहिले भुटान र तिब्बतको प्याकेज धेरै बिक्री भइरहेको छ। जोशीका अनुसार नेपालमा हस्पिटालिटी धेरै तर व्यापार कम छ। बोर्डले चार वर्षयता भएका राम्रा कामको समीक्षासमेत गरेको छ।

बोर्डले आयोजना गरेको कार्यक्रममा नेपाललाई आकर्षक गन्तव्यका रूपमा अगाडि बढाउन पर्यटन बोर्डले उल्लेखनीय भूमिका खेल्दै आएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्रशंसा गरेका छन्। यो वर्ष नेपालमा १० लाख पर्यटकको आगमन कोसेढुंगा सावित भएको बताउँदै मन्त्री रबीन्द्र अधिकारीले भन्नुभयो, "नेपालको पर्यटन अब कहिले पछाडि नफर्किने गरी अघि बढ्नेछ। नेपालमा पर्यटन क्षेत्रको भविष्य उज्यालो छ। कसैले अँध्यारो पार्न खोज्यो भने त्यो असम्भव छ।"

जानकारी तथा लेखहरु