फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रपति भण्डारीद्वारा हेलिकप्टरबाट कृषि परियोजनाको अवलोकन

(GMT+08:00) 2019-01-03 14:16:56

हिजो बुधबार झापा पुग्नुभएकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँको कृषि परियोजनालाई हेलिकप्टरबाटै हवाई अवलोकन गर्नु भएको छ। गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्तीत एक सय बिघा जमिनमा सञ्चालित नमुना कृषि परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

राष्ट्रपति भण्डारीले बुधबार दिउसो उक्त परियोजनाको हेलिकप्टरबाटै हवाई अवलोकन गर्नु भएको हो। शिवसताक्षी नगरपालिका–४ स्थित चन्द्रडाँगी कृषि फार्मको भने उहाँले स्थलगत अवलोकन गर्नुभयो। कृषि फार्म ८४ बिघा क्षेत्रफलमा फैलिएको छ। फार्मलाई कृषि विश्वविद्यालय बनाउने पहल भइरहेका बेला राष्ट्रपति भण्डारीले अवलोकन गर्नुभएको हो।

कृषि अवलोकन भ्रमणपछि राष्ट्रपति भण्डारीले कृषि फार्म र परियोजनालाई सरकारले सुधार गर्दै कृषकलाई सेवा दिनेमा आफू आशावादी रहेको बताउनुभयो। फार्मको अवलोकनपछि चन्द्रडाँगीमा आयोजित औपचारिक कार्यक्रमलाई संबोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। संघीय सरकारले हेर्दैआएका कृषि फार्म र परियोजनालाई प्रदेश र स्थानीय तहमा जिम्मा दिन सके अझै राम्रो काम हुने उहाँको तर्क छ।

'देश संघियतामा गएपछि स्थानीय तह, नागरिक र प्रदेशले अधिकार खोज्नु स्वभाविक हो, पहिले केन्द्रीय सरकारले हेर्दै आएका परियोजना र फार्म सञ्चालनको अधिकार स्थानीय तहले माग गर्नु स्वभाविक हो,' उहाँले भन्नुभयो।

राजनीतिक संक्रमणकाल टुङ्गिएर देश स्थिर राजनीतिमा प्रवेश गरेको भन्दै संघीय नेपालमा शक्ति बाँडफाड र अधिकारलाई मिलाउँदै जानेमा आफू आशावादी रहेको उहाँको भनाइ थियो।

 

जानकारी तथा लेखहरु