फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्बिनीमा १ सय ८ मुलुकका पर्यटक

(GMT+08:00) 2019-01-05 15:05:34

बुद्ध जन्मस्थल लुम्बिनी अवलोकनमा आउने विदेशी पर्यटक बढेका छन्। सन् २०१८ मा १ सय ८ मुलुकका पर्यटकले पुरातात्त्विक स्थल अवलोकन गरेको कान्तिपुर अनलाइनले लेखेको छ। यहाँ आउने स्वदेशी र भारतीयको संख्या बढिरहेको छ।

बुद्धस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर नजिक रहेको पुष्करणी पोखरी परिक्रमा गर्दै श्रीलंकन उपासक–उपासिका। सन् २०१८ मा सबैभन्दा बढी श्रीलंकाका ५९ हजार ९ सय ५९ पर्यटकले लुम्बिनी अवलोकन गरेका थिए।

मुलुकमा सहज अवस्था र लुम्बिनी केन्द्रित राष्ट्रिय/अन्तर्राष्ट्रिय कार्यक्रमले पर्यटक बढदै गएका हुन्। अहिले यस क्षेत्रको प्रवद्र्धनमा संघीय र प्रदेश सरकार जुटेका छन्। लुम्बिनी विकास कोषले बौद्ध धर्मावलम्बी लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ। मुलुकभित्र द्वन्द्वको अवस्था छैन। राजनीतिक स्थिरता देखिएको छ। 'यहाँ मात्र नभएर छिमेक र बौद्ध मुलुकमा राम्रो माहोल छ,' लुम्बिनी विकास कोष सूचना अधिकृत राजन बस्नेतले भन्नुभयो, 'त्यही भएर विदेशी धेरै आए।'

लुम्बिनीको पर्यटन प्रबद्र्धनमा सरकारले प्राथमिता दिएको उहाँको भनाइ छ। गत वर्ष सरकार र राष्ट्रप्रमुख सहभागी भएर बुद्धजयन्ती र दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएकाले त्यसले पनि विदेशीलाई आकिर्षत गर्न मद्धत गरेको बताउनुभयो।

गत कात्तिक अन्तिममा तीन दिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ र मंसिर पहिलो साता भएको भद्रचर्या उत्सवले बौद्धमार्गी र अध्येताको ध्यान तान्यो। बुद्धको जन्मथलोमा १८ मुलुका बौद्ध धर्मावलम्बीले तीन दिने त्रिपिटक पाठ गरे। १० मुलुकका लामा, गुरु र रिम्पोछेंले भद्रचर्या उत्सवमा शान्तिका सन्देश फैलाए। दुवै कार्यक्रम यहाँ पहिलो पटक आयोजना गरिएका थिए।

यसले धार्मिक र शान्ति पर्यटनका लागि लुम्बिनीलाई चिनाउने काम गरेको थियो। पछिल्लो पटक लुम्बिनीमा हरियाली, मनोरम बढदै गएको छ। सरसफाइ गरेर चिरिच्याट्ट छ। 'लुम्बिनीका विभिन्न क्षेत्र राम्ररी घुम्यौ' चीनबाट घुम्न आएकी साउचाङले भन्नुभयो, 'शान्ति र प्राकृतिक आनन्द पायौँ।' अहिले यहाँ घुम्न आउने चिनियाँ बढेका छन्। यसलाई व्यवस्थित गरेर बसाइँ लम्याउनु पर्ने व्यावसायीले बताए।

'दसैँमा धेरै पर्यटक आए' लुम्बिनी विकास कोष सूचना अधिकृत हरि राईले भन्नुभयो, 'हामी उत्साहित भयौं।' पर्यटकको बसाइँ लम्ब्याउन योजना बनाउन जरुरी भएको उहाँले बताउनुभयो। नेपालीले घुम्ने रुची राख्नु सकारात्मक भएको उहाँले बताउनुभयो। यसलाई रोजगारी र आयआर्जनसँग जोडेर लग्न सक्नुपर्छ। अक्टोबरदेखि मार्चसम्म पर्यटक मौसम हो। त्यही भएर बसाइँ लम्ब्याउने योजना जरुरी भएको सिद्धार्थ होटल एसोसिएसनका महासचिव लीलामणि शर्माले बताउनुभयो। 'पर्यटक आउने वातावरण बन्यो,' उहाँले भन्नुभयो, 'टिकाउने समस्या भयो।'

 

जानकारी तथा लेखहरु