फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माघी महोत्सव आयोजना गरिने

(GMT+08:00) 2019-01-05 15:07:14
थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रले पुस ३० र माघ १ गते टुँडीखेलमा आयोजना गर्न लागेको माघी महोत्सव २०७५ को उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको गोरखापत्र अनलाइनले लेखेको छ।

थाकसका महामन्त्री प्रेमीलाल चौधरीको नेतृत्वमा गएको टोलीसँग बालुवाटारमा भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्री ओलीले महोत्सवमा आउने प्रतिवद्धता जनाउनुभयो। थाकसले प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको निमन्त्रणासहित महोत्सवकालागि सरकारको तर्फबाट आर्थिक सहयोग गर्न आग्रह गरेको छ।

थारु युवासभाका अध्यक्ष कानुनलाल चौधरीकाअनुसार प्रधानमन्त्री ओलीले महोत्सवको उद्घाटन गर्न आउने बताउनुभयो। थारु समुदायको प्रमुख पर्व (नयाँ वर्ष) २०७५ को अवसरमा आयोजना हुन लागेको महोत्सवमा सरकारको तर्फबाट आवश्यक आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि प्रधानमन्त्री ओलीले गर्नुभएको चौधरीले जानकारी दिनुभयो।

२०५९ सालदेखि उपत्यकामा बासोबास गर्ने थारुहरुले काठमाडौँमा माघी महोत्सवको आयोजना गर्दैआएका छन्। उपत्यकामा करिब एक लाखको हाराहारीमा थारुहरुको बसोबास रहेको थाकसको भनाई छ। महोत्सवमा थारु हस्तकला, सांस्कृतिक झाँकी, नृत्य, थारु खानाका परिकार, थारु पहिचान झल्किने भेषभूषा तथा थारु इतिहासबारेका पुस्तक पत्रपत्रिकाको स्टलमा प्रदर्शन हुने अध्यक्ष चौधरीले बताउनुभयो।

माघी महोत्सवमार्फत थारुको कला संस्कृतिक र भेषभूषालाई अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान गराउने लक्ष्य थाकसले लिएको बताएको छ। महोत्सवमार्फत थारुको राजनीतिक अधिकारका विषयमा समेत सन्देश प्रवाह गर्ने थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो। माघ महिनाभरी थारु समुदायले माघी पर्व भव्यताकासाथ मनाउने गरे पनि पुसको अन्तिम दिनदेखि माघ २ गतेसम्म जिल्लामा पनि महोत्सवको आयोजना गर्ने गरेका छन्।

जानकारी तथा लेखहरु