फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकवर्षभित्र नेपालमा फोरजी सेवा विस्तार गरिसक्ने चिनियाँ कम्पनीको भनाइ

(GMT+08:00) 2019-01-05 15:08:45

नेपाल टेलिकमको फोरजी सेवा विस्तार परियोजना टेण्डर पारेको चिनियाँ कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको शर्त मानेर एक वर्षभित्र फोरजी विस्तार गरिसक्न सहमति जनाएको अनलाइन खबरले लेखेको छ। मन्त्रीको शर्तबमोजिम चिनियाँ ठेकेदार कम्पनी हुवावे र हुवावेको सहायक कम्पनी चाइना कमसर्भिसले १२ महिनाभित्र फोरजीको काम सम्पन्न गर्न सकिने जवाफ टेलिकमलाई पठाएको समाचारमा उल्लेख छ।

ठेक्का सम्झौता गर्नुअघि मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमलाई कडा शर्त सहित १८ बुँदे निर्देशन कार्यान्वनयका लागि पठाउनु भएको थियो। मन्त्रालयले पठाएको शर्तमा फोरजी परियोजना एक वर्षभित्र सम्पन्न गर्ने शर्तनामा गरेमात्रै ठेक्का दिन निर्देशन थियो। यसअघि १५ देखि ३३ महिना लाग्ने भनिए पनि मन्त्री बास्कोटाले १२ महिनाको शर्त राखेकोमा विज्ञहरुले उहाँको शर्तलाई अव्यवहारिक र दुस्साहसीसमेत भनेर टिप्पणी गरेका थिए।

तर, मन्त्री बास्कोटाको शर्तबमोजिम चिनियाँ ठेकेदार कम्पनी हुवावे र हुवावेको सहायक कम्पनी चाइना कमसर्भिसले १२ महिनाभित्र फोरजीको काम सम्पन्न गर्न सकिने जवाफ टेलिकमलाई पठाएको स्रोतले जनाएको छ।

चाइना कमसर्भिसको लिखित जवाफमा मन्त्री बास्कोटाले अघि सारेका शर्त मानेर काम गर्न ठेकेदार कम्पनी तयार देखिएको छ। त्यस्तै फोरजी विस्तार गरिसकेपछि प्रमुख चार शहरमा फाइभजीको प्राविधिक परीक्षण गर्न पनि चाइना कमसर्भिसले सहमति जनाएको छ।

मन्त्री बास्कोटाले फोरजी सेवा विस्तारको ठेक्का पाउने कम्पनीले फाइभ जी प्रविधि अपग्रेड हुने सुनिश्चिततासहित चार शहरमा फाइभजीको सानो स्तरको सेवा उपलब्ध गराउनुपर्ने शर्त पठाएका थिए।

सो शर्तवमोजिम काठमाडौं, पोखरा, नेपालगन्ज र बिराटनगरका निश्चित ठाउँमा फाइभजी सेवा दिनुपर्ने र त्यो निःशुल्क हुनुपर्ने भनिएको थियो। टेलिकमलाई चाइना कमसर्भिसले पठाएको जवाफमा सो शर्त स्वीकार गर्दै थप लागतविना नै फोरजीकै रकमबाट सो परीक्षण गर्ने प्रतिवद्धता जनाइएको छ।

विश्वमा अहिले अमेरिका, चीन, क्यानडा, जापान अष्ट्रेलिया लगायतका देशहरु फाइभजीमा गइसकेका छन्। भारतले सन् २०२० मा फाइभजी सुरु गर्ने तयारी गरिरहेको छ। दक्षिण कोरिया केही महिनापछि नै फाइभजीमा जाँदैछ।

 

जानकारी तथा लेखहरु