|
|
|
||
कुवेतस्थित रोजगारदाता र बिमा कम्पनीले पीडित नेपाली श्रमिक र तिनका परिवारलाई हालसम्म करिब २० करोड रुपैयाँ क्षतिपूर्ति दिएका छन्। पछिल्लो एक वर्षमा मात्रै ८ करोड ५७ लाख रुपैयाँ क्षतिपूर्तिस्वरूप नेपाल पठाइएको नेपाली दूतावासले बताएको कान्तिपुर अनलाइनले लेखेको छ।
दूतावासले नेपाली कामदार कार्यरत कम्पनी र बिमा कम्पनीविरुद्ध मुद्दा लडेर क्षतिपूर्ति रकम उपलब्ध गराएको हो। 'कुवेती कानुनले दिएको अधिकार प्रयोग गरी हामीले मुद्दा लडेर क्षतिपूर्ति दिलाइएको हो,' राजदूत यज्ञबहादुर हमालले भन्नुभयो, 'घाइते र मृत्यु भएका श्रमिकका परिवारका तर्फबाट मुद्दा लडेका हौं।'
दूतावासले मुद्दा लड्न कुवेती वकिललाई प्रयोग गरेको हो। राजदूत हमालले प्रमाण भएमा उच्च क्षतिपूर्ति दिलाउन सकिने बताउनुभयो। एउटै ब्यक्तिलाई ६४ हजार अमेरिकी डलरसम्म क्षतिपूर्ति दिलाइएको र सबैभन्दा बढी कार्यस्थल र सडक दुर्घटनामा मृत्यु हुने श्रमिकका परिवारले पाएका दूतावासले जनाएको छ। 'कार्यस्थलको समयभित्र मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति उच्च छ। सिधै कम्पनीले दिएमा मुद्दा लड्नु पर्दैन। बिमा कम्पनीले अनेक बहाना गरी नदिएमा लड्नुपर्छ,' उहाँले भन्नुभयो, 'त्यसरी पाएको रकम परराष्ट्र मन्त्रालय पठाइएको छ।' उहाँले परराष्ट्रले पीडित परिवारका हकदारले मात्रै पाउने व्यवस्था गरेको बताउनुभयो।
कुवेतमा पछिल्लो समय सुतेको सुत्यै अवस्थामा ज्यान जाने नेपालीको संख्या वृद्धि भइरहेको छ। श्रमिकहरूको २४ घण्टा नै बिमा नहुने अवस्था छ। यस्तोमा क्याम्पभित्र सुतेको अवस्थामा मृत्यु हुने र आत्महत्या गर्ने श्रमिकका परिवार क्षतिपूर्ति पाउनबाट वञ्चित छन्। सन् २०१८ मा मात्रै ४८ जनाको मृत्यु भएको थियो। जसमा १७ जनाको प्राकृतिक (सुतेको सुत्यै) मृत्यु, ९ बिरामी र ३ जनाले आत्महत्या गरेका थिए। क्षतिपूर्ति पाउने प्रकृतिको मृत्यु ११ जनाको मात्रै थियो। 'श्रमिकको २४ घण्टा नै बिमा हुनुपर्नेमा हाम्रो लबिइङ भइरहेको छ। कुवेती अधिकारीसमक्ष यो विषयलाई गम्भीर रूपमा उठाइरहेका छौं,' उहाँले भन्नुभयो, 'कुवेतसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढिरहेको छ। त्यसमा यो विषय एउटा मुख्य सवाल हो।'
राजदूत हमालका अनुसार पीडितलाई क्षतिपूर्ति दिलाउन स्थानीय वकिललाई अधिकतम् परिचालन गरिएको छ। कुवेती वकिल मोहम्मिद अल–इलेजिनले क्षतिपूर्ति एवं कानुनी हकप्राप्तिका लागि श्रमिकले प्रमाणहरू सुरक्षित राख्नुपर्ने र जतिसक्दो चाँडो कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो।
हमालले कुवेतमा कार्यरत नेपाली श्रमिकका गम्भीर र जटिल प्रकृतिका समस्या समाधान गर्न दूतावासले उच्च प्राथमिकता दिई समाधान भइरहेको बताउनुभयो। पछिल्लो एक वर्षमा मात्रै कम्पनीमा कार्यरत एक सय ३२ जना कामदार र चार सय ४५ घरेलु कामदारको उद्धार गरेको छ। 'नेपाली श्रमिकको रोजगारलाई सम्मानित र फलदायी बनाउन वैदेशिक रोजगारमा आउनुअघि नेपाली कामदारलाई दिइने अभिमुखीकरण तालिममा श्रम गन्तव्य मुलुकको भाषा, भूगोल, श्रम कानुन तथा अन्य सामाजिक, सांस्कृतिक पक्षका बारेमा विस्तृत र गहन ढंगबाट जानकारी प्रदान गरेर प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ,' उहाँले भन्नुभयो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |