फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगानी सम्मेलनबारे कुटनीतिज्ञ र विकास साझेदारलाई 'ब्रिफिङ'

(GMT+08:00) 2019-01-17 16:24:45

आगामी चैत १४ र १५ गते हुन लागेको दोस्रो लगानी सम्मेलनका लागि नेपाल सरकारले नेपालमा रहेका सबै देशका राजदूतावास र दातृ निकायलाई बोलाएर यसको सन्देश विश्वभरीका व्यापारिक नेतृत्वकर्तासमक्ष पुर्‍याउन आह्वान गरेको कारोबार अनलाइनले लेखेको छ। बुधबार अर्थ मन्त्रालयमा बोलाएर राजदूतावास तथा दातृ निकायका प्रतिनिधिहरूलाई नेपालमा हुन गइरहेको लगानी सम्मेलनको औपचारिक जानकारी दिँदै सम्मेलनका लागि सम्बन्धित मुलुकको सरकार र त्यहाँ रहेका बिजनेस लिडर्स (व्यापारिक नेतृत्व) समक्ष पुर्‍याउन आह्वान गरेको हो। बैठकमा छिमेकी राष्ट्र चीन र भारतका साथै अमेरिका, नर्वे, फिनल्याण्डलगायत देशका साथै विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) अन्तर्राष्ट्रिय वित्त निगम, डीएफआईडी, संयुक्त राष्ट्र संघलगायतका दातृ र विकास साझेदारहरू सहभागी थिए।

अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा. युवराज खतिवडा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा हुन लागेको लगानी सम्मेलनका लागि सम्बन्धित देशका सरकारलाई जानकारी दिँदै त्यो देशमा लगानी सम्मेलनको पूर्वतयारीका लागि छलफलको लागि सहजीकरण गर्न तथा बिजनेस लिडर्सहरूलाई सम्मेलनमा भाग लिनका लागि सहयोग आग्रह गर्नु भएको थियो।

दातृ निकाय र संस्थाका प्रतिनिधिले सो क्रममा नेपालमा लगानी भित्र्याउन र सम्मेलनलाई सफल तुल्याउन हरसम्भव सहयोग गर्ने बताउँदै विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि जग्गा प्राप्तिदेखि कानुनी प्रक्रियामा सुधारको आवश्यकता रहेको बताएका थिए। अर्थमन्त्री डा. खतिवडाले लगानीका लागि देखिएका कानुनी समस्याहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालमा अहिले दक्ष जनशक्तिको कुनै समस्या नरहेको बताउँदै शिक्षा क्षेत्रमा भएको सुधार र वैदेशिक रोजगारीबाट फर्केमा युवा जनशक्तिले आर्जन गरेको सीपलाई अधिकतम उपयोग गर्न सकिने बताउनुभयो।

सो अवसरमा सम्मेलनमा कृषि, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, औद्योगिक लगायतका पाँच विषयलाई मुख्य प्राथमिकता दिएर सम्भाव्यता अध्ययन भएका परियोजनाहरू सम्मेलनमा प्रश्तुत गर्न लागेको जानकारी दिइएको थियो।

जानकारी तथा लेखहरु