फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले उपाधिका लागि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने

(GMT+08:00) 2019-01-19 14:14:34

नेपाल थाइल्यान्डमा जारी वुमन्स टीट्वेन्टी स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। हिजो शुक्रबार भएको सेमिफाइनल खेलमा इन्डोनेसियालाई ९२ रनको भारी अन्तरले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

झन्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाली टोलीले आफूलाई अपराजित राख्दै फाइनलसम्मको यात्रा तय गरेको हो। नेपालले अब उपाधिका लागि आज शनिबार हुने फाइनल खेलमा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। थाइल्यान्ड शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४९ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

टर्डथाई क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा मात्रै तीन विकेट गुमाउँदै एक सय १९ रनको योगफल तय गरेको थियो। जवाफमा आएको इन्डोनेसियालाई ११.१ ओभरमा २७ रनमै समेट्दै नेपालले आफ्नो फाइनल यात्रा निश्चित गरेको हो। नेपालको जितमा कप्तान रुबिना क्षेत्री बेलबासेको नेतृत्वमा रहेको बलिङ 'डिपार्टमेन्ट'ले निकै सशक्त प्रदर्शन गर्‍यो।

त्यसमा अगाडि रहिन् कप्तान रुबिना। ३.१ ओभर बलिङ गरेकी रुबिनाले दुई मेडनसहित मात्रै दुई रन खर्चेर इन्डोनेसियाको महत्वपूर्ण चार विकेट लिइन्। सोही प्रदर्शनका आधारमा उनी प्लेयर अफ दी म्याचसमेत घोषित भइन्। उनीबाहेक कविता कुँवर, नेरी थापा, सीता रानामगर र सरिता मगरले एक÷एक विकेट लिएपछि इन्डोनेसिया नेपालले प्रस्तुत गरेको लक्ष्यसम्म पुग्नुभन्दा धेरैअघि रोकिएको थियो।

नेपाली खेलाडीको कसिलो बलिङसामु इन्डोनेसियाका कुनै पनि खेलाडी टिक्न सकेनन्। प्रारम्भिक खेलाडी युलिया एंग्रेइनीले जोडेको १३ रननै नेपालविरुद्ध इन्डोनेसियाको कुनै पनि खेलाडीले बनाएको व्यक्तिगत सर्वाधिक रन रह्यो। त्यस बाहेकका खेलाडीले व्यक्तिगत पाँच रनसमेत जोड्न सकेनन्। इन्डोनेसियाका चार खेलाडी शून्य रनमै आउट हुन पुगे।

त्यसअघि सीता रानामगरले ४८ तथा इन्दु बर्माले ३३ बलमा अविजित ३७ रन जोडेपछि नेपालले ठूलो योगफल तय गरेको थियो। ६८ मिनेट क्रिजमा बिताएकी सीताले आफ्नो पालिमा एक चौका प्रहार गरेकी थिइन् भने इन्दुले दुई चौका प्रहार गरेकी थिइन्। सीता र इन्दुले दोस्रो विकेटका लागि ७० रनको साझेदारी गर्दै नेपालको पालिलाई ठूलो योगफलतर्फ अग्रसर गराएका थिए। उनीहरूबाहेक काजोल श्रेष्ठ १४ तथा नेरी थापा पाँच रनमा आउट हुँदा कप्तान रुबिना दुई रनमा अविजित रहिन्।

इन्डोनेसियाका इडयन्स क्रिसमार्टिनी र कदेक फित्रिया रानीले नेपालको एक÷एक विकेट लिएका थिए। नेपाल र थाइल्यान्डसँग पराजित भएका इन्डोनेसिया र यूएईले शनिबार नै तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

जानकारी तथा लेखहरु