फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रम ओली स्विजरल्यान्डको डाबोसमा आयोजना हुने विश्व आर्थिक मन्चमा सहभागी हुनुहुने

(GMT+08:00) 2019-01-19 14:17:05

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्विजरल्यान्डको डाबोसमा विश्व आर्थिक मञ्चको बैठकमा हुने आफ्नो सहभागिताबारे प्रतिनिधिसभालाई जानकारी दिनुभएको छ। पहिलोपटक सहभागी हुन लागेको नेपालले मञ्चलाई देशको इज्जत र प्रतिष्ठा बढाउने विषयमा उपयोग गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो। त्यस बैठकमा सहभागी हुन आइतबार प्रधानमन्त्री स्विजरल्यान्ड प्रस्थान गर्नुहुने कार्यक्रम रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

उक्त फोरमलाई नेपालले आफ्ना उपलब्धिबारे र आवश्यकताबारे जानकारी दिने गरी उपयोग गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो। उहाँले भन्नुभयो 'पहिलोपटक सहभागी हुन लागेको नेपालले आफ्ना आवश्यकता बताउने र नेपालको अवस्था जनाउने कामप्रति केन्द्रित हुनेछ। मुलुकको प्रतिष्ठाका लागि सजगताका साथ सहभागिता हुनेछ।'

फोरममा पहिलो पटक नेपाललाई सहभागी हुन बोलाइनु नेपालले प्राप्त गरेको प्रगतिमा दुनियाँको चासो भएको उहाँले बताउनुभयो। नेपालको द्वन्द्व व्यवस्थापनलाई अन्य मुलुकले सकारात्मक रुपमा हेरेको बताउनुहुँदै उहाँले नेपाल विश्वको सानो मुलुक, पछौटे मुलुकको परिभाषामा नभई विश्व मानचित्रमा विभिन्न कोणबाट हेर्नलायक रुपमा स्थापित भइरहेको बताउनुभयो। सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले २२ जनबरीमा स्टाटे«जिक आउटलुक अन साउथ एसियामा आफ्नो धारणा राख्नुहुनेछ। यस्तै, २३ जनबरीमा प्रधानमन्त्री ओलीले सेपिङ दि फ्युचर अफ डेमोक्रेसीका विषयमा धारणा राख्नुहुनेछ। सत्रमा कोलम्वियाका राष्ट्रपति तथा अर्मेनियाका प्रधानमन्त्री पनि सहभागी हुनुहुनेछ। सो सत्रमा फाइनान्सियल टाइम्स र न्युयोर्क टाइम्सका सम्पादक पनि सहभागी हुने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो।

जनवरी २४ मा उहाँले जी–२० का देशका प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम छ। सो सत्रको साइडलाइनमा देशका नेता तथा विजनेस लिडरहरुसँग पनि छलफल हुने प्रधानमन्त्री ओलीले बताउनुभयो। उहाँ यही माघ १२ गते फर्कने कार्यक्रम छ।

http://gorkhapatraonline.com/news/65071

जानकारी तथा लेखहरु