फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल, भारत र चीन जोड्ने किमाथांका सडक पूरा हुन अब १४ किमी मात्रै बाँकी

(GMT+08:00) 2019-01-22 13:39:57

नेपाल, भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरी मानिएको बहुप्रतिक्षित जोगबनी-किमाथांका सडक जोडिन अब १४ किलोमिटर मात्रै बाँकी छ। १४ किलोमिटर ट्र्याक खुलिसकेपछि तीन देशबीच व्यापारिक कारोबारमा सहजता आउनेछ। यो नाका यस्तो नाका हो, जुन बाह्रै महिना सञ्चालनमा आउने छ। चीनसँग सीमा जोडिएका अधिकांश नाका हिउँ पर्ने सिजनमा सञ्चालनमा आउँदैनन्। तर, यो सबैभन्दा छोटो र बाह्रै महिना सञ्चालन हुने सडक हो।

उत्तर-दक्षिण कोसी सडक योजना खाँदबारीका अनुसार अत्यन्तै भीर र चट्टान भएका कारण १४ किलोमिटर ट्र्याक खोल्न कठिनाइ देखिएको छ। अधिकांश ठाउँमा विस्फोट गरेर मात्रै ट्र्याक खोल्न सकिन्छ। विस्फोट गराउन बंकरका लागि ठेक्का प्रक्रिया अगाडि बढेको योजनाका इन्जिनियर अजयकुमार साहले बताउनुभयो।

इन्जिनियर साहका अनुसार ट्र्याक खोल्न बाँकी स्थानमा चट्टान र पहरा भएकाले विस्फोटक पदार्थ प्रयोग गरी खोल्नुपर्ने अवस्था छ। चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा विस्फोट प्रयोग गरी १४ किलोमिटर छिचोलेपछि रानीदेखि किमाथांका स्थलमार्गबाट जोडिन्छ। मुलुककै समृद्धिमा महत्वपूर्ण मानिएको यो सडक ट्र्याक नखुल्दा निर्माणले गति लिन सकेको छैन। त्रिदेशीय व्यापारिक महत्वको यो सडक मोरङको रानीदेखि संखुवासभाको किमाथांकासम्म पुग्छ । जसको दूरी ३ सय ४० किलोमिटर छ। कारोबार अनलाइनका अनुसार उत्तर-दक्षिण कोसी सडक आयोजनाअन्तर्गत पाँच वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ आर्थिक वर्ष २०६५-०६६ देखि काम थालिएको थियो।

मोरङबाट सुनसरी, धनकुटा र तेह्रथुम हुँदै संखुवासभाको सीमावर्ती गाउँसम्म सडक पु-याउने लक्ष्य छ। संखुवासभा सदरमुकाम खाँदबारीसम्म कालोपत्रे भइसकेको छ। बीचका केही स्थानमा सडक बिग्रिए पनि त्यसलाई व्यवस्थित पार्ने काम भइरहेको छ। अरुण नदीको किनारैकिनार चीनको तिब्बती सहर रियुमा जोडिने उत्तर-दक्षिण मार्ग बनिसकेपछि नेपाल त्यसमा पनि विराटनगर चीन र भारतको व्यापारिक केन्द्र बन्ने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश-१ का उपाध्यक्ष राजेन्द्र राउतको भनाइ छ।

संखुवासभाको खाँदबारीदेखि किमाथांकाको दूरी १६२ किलोमिटर छ। "जोगबनी-किमाथांका सडक निर्माणले नेपालको व्यापार विस्तार मात्र हुने छैन, उत्तर तथा दक्षिण सीमाबाट चीन र भारतका प्रमुख व्यापारिक सहर पनि छोटो दूरीबाट जोडिनेछन्," उपाध्यक्ष राउतको भनाइ छ, "किमाथांकाबाट तिब्बती सहर ल्हासा र ठूलो व्यापारिक सहर सिगात्से पनि छोटो दूरीमा पर्ने भएकाले व्यापार विस्तारमा ठूलो सहयोग पुग्ने ।" किमाथांका नाकाबाट चीनको व्यापारिक सहर सिगात्से करिब ३ सय किलोमिटर दूरीमा छ।

किमाथांका सडकका कारण नेपालबाहेक अन्य चार मुलुकसमेत प्रत्यक्ष-अप्रत्यक्ष जोडिन सक्नेछन् । किमाथांका सडक बनेपछि चीन, भारत, भुटान र बंगलादेशबीच विराटनगर जोडिने मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा बताउनुहुन्छ।

जानकारी तथा लेखहरु