फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथाको फोहर व्यवस्थापनमा नेपाल सुस्त, चीनले अभियान थाल्ने

(GMT+08:00) 2019-01-22 13:42:43
चीनले सगरमाथा (चोमोलोङमा) मा फोहोर बढेको भन्दै सफाइ अभियान थाल्न यस वर्ष आरोहण कटौती गर्ने भएको छ। एपी (एसोसिएटेड प्रेस)ले सोमबार चीनका सरकारी प्रवक्ताको भनाइ उल्लेख गर्दै एक तिहाइभन्दा बढी आरोहण कटौती गरी फोहोर संकलन, प्रशोधन गरी व्यवस्थापन गरिने जनाएको छ।

विश्वकै सबैभन्दा अग्लो हिमशिखर सगरमाथा (८,८४८ मिटर) उत्तरी बाटो चीन र दक्षिणी बाटो नेपालतर्फबाट मात्र आरोहण हुने गरेको छ। चीनतर्फबाट आरोहण हुँदा मृत्यु भएका आरोहीको शव व्यवस्थापन गर्न र फोहोर सफा गर्न चीनले यस वर्ष अभियान नै चलाउने भएको हो। आउने वैशाख÷जेठ (बसन्त ऋतु) मा हुने आरोहणमा ३ सयभन्दा बढी आरोहीले आरोहण अनुमति नपाउने भएका छन्। सगरमाथा आरोहण क्रममा आरोही र गाइडले बोतल, क्यान, प्लास्टिक झोला, स्टोभ, टेन्ट, अक्सिजन सिलिन्डरलगायत सामाग्री हिमालमै छाड्दा फोहोर बढेको छ।

एपीका अनुसार चीनतर्फबाट सगरमाथालगायत हिमाली क्षेत्रमा वार्षिक ६० हजार पर्यटक र गाइडले भ्रमण गर्छन्। ८ हजार मिटरमाथि अक्सिजन अभावमा बर्सेनि मृत्यु भएका आरोहीका शवको व्यवस्थापन नहुँदा आरोहण प्रतिकूल बन्दै गएकाले यस वर्ष चीनले पहिलोपटक शव व्यवस्थापन गर्ने भएको हो। आरोही लाक्पा शेर्पाका अनुसार नेपालबाट भन्दा चीनबाट आरोहण गर्ने बाटोमा धेरै शव भेटिने बताए। हिमालय डाटाबेस संस्थाको तथ्यांकका आधारमा सन् २०१७ मा चीनतर्फ १ र नेपालतर्फ ५ आरोहीको मृत्यु भएको थियो।

अन्नपूर्णपोस्ट अनलाइनका अनुसार २०१० जेठ १६ देखि नै आरोही तेन्जिङ नोर्गे शर्पा र एडमन्ड हिलारीको सफल आरोहणपछि सगरमाथा आरोहण सुरु भए पनि सरकारले अझै हिमालको फोहोर सफा गर्न अभियान चलाएको छैन। बर्सेनि हिमालमा फोहोर बढ्दै गए पनि शव र फोहोर व्यवस्थापन नगर्दा आरोहणमा समस्या हुने आरोही दुखेसो पोख्छन्।

पर्वतारोहण पर्यटनका लागि मुख्य मानिए पनि हिमालको सफाइ र व्यवस्थापन नहुँदा आकर्षण घट्दै गएको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताउनुभयो। नेपालले पनि चीनले जस्तै केही वर्ष आरोहण स्थगित नै गरी सफाइ अभियान चलाउनु आवश्यक भएको लामाको विचार छ।

सगरमाथा, मनास्लु, ल्होत्से, मकालु, कञ्चनजंघा, धौलागिरीलगायत हिमालमा २० वर्षभन्दा पुराना शव प्रसस्त भेटिन्छन्। सरकारले ४ सय १४ वटा हिमाल पहिचान गरी आरोहणका लागि खुला गरेको छ। ८ हजारभन्दा अग्ला २० मध्ये १४ हिमाल नेपालमै भए पनि बढी आरोहण हुने हिमाल फोहोरले ढाकिसकेकाले नकारात्मक सन्देश प्रवाह भइरहेको पर्यटन व्यवसायीको दुखेसो छ।

जानकारी तथा लेखहरु