फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाहिरी मुलुकबाट भित्रिने अनावश्यक वस्तुको आयात रोक्ने नेपालको तयारी

(GMT+08:00) 2019-01-25 13:24:39
सरकारले बाहिरी मुलुकबाट भित्रिने अनावश्यक वस्तुको आयात रोक्ने तयारी गरेको छ। अनावश्यक वस्तुको आयात बढी भई मुलुकको व्यापार घाटा बढ्दै गएपछि त्यस्ता वस्तुलाई रोक्ने तयारी सुरु भएको हो। मुलुकमा आयातदर बढ्दै गएपछि व्यापार घाटा चुलिँदै जाँदा यसलाई कम गर्न उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले अनावश्यक वस्तुको आयात रोक्ने तयारी गरेको हो। अनावश्यक वस्तुको आयात रोक्न मन्त्रालयले तथ्यांक संकलन गर्न लागेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मुलुकमा आवश्यक नभएका वस्तु आयात रोक्न लागिएको बताउनुभयो। मुलुकमा कति आवश्यक र अनावश्यक वस्तुको आयात भएको छ भनेर त्यसको तथ्यांक संकलन गर्न लागिएको जानकारी दिनुभएको कारोबारले लेखेको छ। खाद्यान्नको आयात पनि धेरै भइरहेको बताउँदै मन्त्री यादवले भन्नुभयो, "मुलुकमा कति उत्पादन भएको छ र अपुग कति हो सोही परिणाममा मात्र आयात गर्नुपर्छ।"

कुन वस्तु विलासितामा र आवश्यकतामा पर्ने हो भनेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर तथ्यांक संकलन गर्न लागिएको मन्त्री यादवले जानकारी दिनुभयो। विलासिताका वस्तु धेरै आयात भइरहेकाले तिनको आयातमा कर वृद्धि गर्ने र अत्यावश्यक वस्तुमा कर घटाउन सके मात्र बढ्दो आयातलाई रोक्न सकिने उहाँको भनाइ छ।

व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ७ अर्ब रूपैयाँको वस्तु आयात भएकोमा ३७ अर्ब ५० करोड रूपैयाँको निर्यात भएको छ। पाँच महिनामा ८७ अर्ब रूपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ। कृषिप्रधान मुलुकले पछिल्लो पाँच महिनामा ८९ अर्ब ४० करोड ९६ लाख ५७ हजार रूपैयाँको कृषिजन्य वस्तुको आयात भएको हो।

जानकारी तथा लेखहरु