फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय बन्दरगाह भए तेस्रो मुलुकबाट सामान नेपाल भित्र्याउन अझै सजिलो

(GMT+08:00) 2019-01-26 14:17:17

तेस्रो मुलुकबाट सामान आउने भारतको कोलकातास्थित हल्दिया बन्दरगाह क्लियरिंगको प्रक्रिया सहज हुने भएको छ। सो बन्दरगाहमा विद्यमान कागजी प्रणाली हटाएर विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली (इसीटीएस) प्रणाली लागू हुने भएको हो। यसले नेपाली व्यवसायीलाइ ठूलो राहत दिनेछ। अहिले एउटा कन्टेनर क्लियर गर्न दुई दर्जनभन्दा बढी टेबल चाहर्नु पर्ने झन्झट छ। इसीटीएस लागू भएपछि नेपाली व्यवसायीले राहत पाउने नेपाल उद्योग वाणिज्य महासंघले उल्लेख गरेको छ।

यसका लागि महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भारत सरकारलाइ धन्यवाद ज्ञापन गरेको गरेको हो। इसीटीएस प्रणालीको औपचारिक शुभारम्भ आगामी फागुन ३ गतेदेखि हुनेछ। यसबाट नेपालको आयात र निर्यात व्यापारमा ठूलो सुधार आउने विश्वास महासंघको छ। इसिटीएस प्रणाली लागू भएपछि कोलकाता-बीरगंजसम्मको रेल्वे ढुवानीमा चारदेखि पाँच दिनसम्म मात्र लाग्नेछ। हाल कोलकाताबाट बीरगंजसम्म सामान आइपुग्न एक महिनाभन्दा बढी समय लाग्दै आएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भन्नुभयो, 'एउटा राष्ट्रिय सम्मानका लागि पनि यो व्यवस्था आवश्यक थियो जुन प्राप्त भएको छ। महासंघ त्यसको स्वागत गर्दछ र यो प्रणाली लागू गर्न नेपाल सरकार र भारत सरकारका तर्फबाट भएको सहयोगप्रति महासंघ आभारी छ।' ठूला कन्टेनरमा प्रतिकन्टेनर झण्डै ४० हजारसम्म तिर्दै आएको अतिरिक्त रकम अब बच्नेछ। यसबाट समग्रमा मुलुकको आयात–निर्यात व्यवसाय लाभान्वित हुने नेपालखबर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु