फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवागढीमा राजस्व संकलन उत्साहजनक

(GMT+08:00) 2019-01-28 14:42:16

राजस्व संकलनमा रसुवा भन्सार कार्यालय सक्षम बन्दै गएको छ। चीनसँगको एकमात्र व्यापारिक नाकाको रूपमा सञ्चालनमा रहेको रसुवागढीबाट कारोबार बढेसँगै भन्सार असुलीमा रसुवा भन्सार कार्यालय सक्षम ठहरिँदै गएको कारोबार अनलाइनले लेखेको छ।

२०१३ सालमा स्थापना भएको भन्सार कार्यालय टिमुरे विनासकारी भूकम्पको कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि एकाएक चम्किएर राजस्व संकलनमा लक्ष्यभन्दा निकै बढी गुणा संकलन गर्न सफल ठहरिएको छ। २०७२ सालमा गएको बिनासकारी भूकम्पदेखि हालसम्म रसुवा भन्सार कार्यालय टिमुरेले १५ अर्ब रूपैयाँभन्दा बढी राजस्व असुली गरेको भन्सार प्रमुख पुण्यबिक्रम खड्काले जानकारी दिनुभयो।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा टिमुरेमा आयोजित कार्यक्रममा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२/७३ मा २ अर्ब ४ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो। भूकम्पपछि केरुङ नाका सञ्चालनमा आएसँगै चम्किएको यो नाकाबाट आव २०७३/७४ मा २ अर्ब ९२ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो भने आव २०७४/७५ मा ४ अर्ब ५९ करोड रूपैयाँ संकलन भएको भन्सार प्रमुख खड्काले बताउनुभयो।

यो नाकाले चालू आव २०७५/७६ मा ७ अर्ब १५ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। पछिल्लो ६ महिनामा ५ अर्ब ६१ करोड रूपैयाँ राजस्व संकलन भइसकेको कार्यालयले जनाएको छ। यो चालू आवको राजस्व संकलनको लक्ष्यको ८० प्रतिशत हो। "बाढी र पहिरोले भदौदेखि असोजसम्म एक महिना भन्दाबढी नाकाबाट आवतजावत प्रभावित हुदाँ पनि लक्ष्य भन्दाबढी राजस्व संकलनले चीनसँगको व्यापारलाई उत्साहको रूपमा देखाएको छ," भन्सार प्रमुख खड्काले भन्नुभयो, "राजस्वमा अब्बल भएर मात्र के गर्नु भौतिक संरचनाको जीर्ण अवस्थाले कर्मचारीलाई भने निराश बनाएको छ।"

भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयसँग स्रोत, साधन, दक्ष जनशक्ति र आधुनिक उपकरणको अभाव छ। सुख्खा बन्दरगाह निर्माणमा भएको ढिलाइ र हालको यार्ड साँघुरो हुँदा कर्मचारीलाई काम गर्न कठिनाइ छ।

जानकारी तथा लेखहरु