फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले जित्यो ऐतिहासिक ओडिआई शृंखला, पारस नायक

(GMT+08:00) 2019-01-29 15:17:24

कप्तान पारस खड्का नायक बन्दा नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) शृंखला जितेको छ। पारसले शतकीय पारी खेलेपछि नेपालले यूएईविरुद्धको ओडिआई शृंखला २-१ले जितेको नेपाल खबर अनलाइनले लेखेको छ।

अन्तिम तथा निर्णायक खेलमा सोमबार नेपालले यूएईलाई ४ विकेटले पराजित गर्दै शृंखला आफ्नो पक्षमा पारेको हो। यूएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपाले ४४.४ ओभरमा ६ विकेट गुमाएर भेटाएको थियो।

गतवर्ष मार्चमा ओडिआइ मान्यता पाएपछि नेपालले खेलेको यो दोस्रो शृंखला हो। यसअघि गत अगष्टमा नेदरल्याण्ड्सविरुद्ध नेपालले २ खेलको शृंखला खेलेको थियो। जुन १-१ को बराबरीमा टुंग्गियो।

त्यसपछि नेपालले यूएईविरुद्ध तीन खेलको शृंखला खेलको हो। गत शुक्रबारबाट सुरु भएको यो शृंखलामा पहिलो खेल यूएईले ३ विकेटले जितेको थियो। दोस्रो खेलमा नेपालले १ सय ४५ रनले यूएईलाई पराजित गर्दै उत्कृष्ट पुनरागमन गर्यो भने आज सम्पन्न खेलमा ४ विकेटले पराजित गर्दै शृंखला आफ्नो पक्षमा पार्‍यो।

नेपाललाई पहिलो ओडिआई शृंखला दिलाउँन कप्तान पारस खड्का नायक रहे। उनले १ सय १५ रनको शतकीय पारी खेलेपछि नेपालको जित सम्भव भएको हो। १ सय ९ बलको सामना गरेका पारसले १५ चौका र १ छक्का प्रहार गरेका थिए।

नेपालको ओडिआइ इतिहासमा यो नेपाली खेलाडीले प्रहार गरेको पहिलो शतक हो। यसअघि नेपालले खेलेका पाँच खेलमा पारससहित चार नेपाली खेलाडीले अर्धशतक प्रहार गरिसकेका छन्।

ओपनर विनोद भण्डारी पाचौं ओभरमा मोहम्मद नाभिदको बलमा विकेटकिपर घुलन शब्बिरको हातबाट क्याचआउट भएपछि क्रिजमा भएका पारसले नेपालको एकातर्फको क्रिज सम्हालेका थिए।

३९औं ओभरको अन्तिम बलमा क्वादर अहमदबाट एलबिडब्लुको सिकार हुनअघि टोलीको १९ रन हुदा क्रिजमा आएका पारसले नेपाललाई २ सय १५ रनको स्थितीमा पुर्‍याएका थिए।

पारससँग अर्को एन्डबाट कसैले निरन्तर साथ दिएनन्। ज्ञानेन्द्र मल्ल दोस्रो विकेटका रुपमा आउट हुदा उनीसँग पारसको साझेदारी ६२ रनको भएको थियो। ज्ञानेन्द्र मल्लले ३१ रन जोडे। ३५ बल खेलेका ज्ञानेन्द्रले ४ चौका प्रहार गरे।

यस्तै तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरी(६ रन)सँग पारसको साझेदारी रन रनको मात्रै भयो। चौथो विकेटका लागि डेब्यू गरेका सन्दीपसँग पारसको ३१ रनको साझेदारी भयो। सन्दीप जोराले २० बलमा १ छक्का र एक चौकाको मद्दतमा १९ रन जोडे।

पाँचौं विकेटका लागि रोहित पौडेलले भने पारसको साथ दिए। रोहित अस्फाक अहमदको बलमा विकेटकिपर घुलनको हातबाट क्याच हुनुअघि पारससँग उनको साझेदारी ५४ रनको बनेको थियो। रोहितले १६ जोडे।

छैटौं विकेटका लागि आरिफ सेखसँग ३२ रनको साझेदारी गरेपछि पारस एलबिडब्लुको सिकार हुन पुगे। सातौं विकेटका लागि आरिफसँग सोमपालले ४० रनको साझेदारी गर्दै नेपाललाई पहिलो एकदिवसीय शृंखला दिलाएका हुन्।

सोमपालले ४५औं ओभरको चौथो बलमा रिज्वानलाई छक्का प्रहार गर्दै विजयी रन बटुलेका थिए। सोमपाल २६ र आरिफ २४ रनमा नटआउट रहे।

त्यसअघि चुन्दनगापोइल रिजवन र साइमन अनवारले पाँचौ विकेटकालागि महत्वपूर्ण शतकीय साझेदारी गरेपछि यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको हो।

मोहम्मद उस्मान(२६)लाई पारस खड्काले ललितनारायण राजवंशीको हातबाट क्याच गराउँदा यूएइ ४७–४ को स्थितीमा थियो। त्यसबेला खेल नेपालको हातमा देखिएपनि त्यसपछि आएका अनवरले रिजवानसँग शतकीय साझेदारी गर्दै यूएईलाई सुदृढ स्थितीमा पुर्याएका थिए।

२०.२ ओभरमा ब्याटिङमा आएका अनवरले रिजवनसँग ४१.२ ओभरसम्म खेल्दै एक सय रनको साझेदारी गरेका थिए। सो साझेदारी तोड्न पारस खड्काले आफ्ना सवै बलर प्रयोग गरेपनि सक्षम भएनन्।

४२औं ओभरको दोस्रो बलमा करण केसीले रिजवानलाई विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच गराउँदा उनी अर्धशतक बनाउँन पाँच रनले चुके। ७६ बलको सामना गरेका रिजवानले ४५ रन जोडे। सो क्रममा उनले पाँच चौका प्रहार गरेका थिए।

तर, अनवरले भने पुनः मोहम्मद बुटासँग मिलेर साझेदारी अघि बढाए। ४९औं ओभरको अन्तिम बलमा पारसले रोहितको हातबाट क्याच गराउँनु अघि छैटौं विकेटका उनले बुटासँग एक सय दश रनको साझेदारी गर्दै नेपालविरुद्ध बलियो स्कोर खडा गरे।

७० बल खेलेका साइमनले ८७ रन जोडे। जसमा ९ चौका र २ छक्का सामेल थिए। यूएईका लागि बाँकी काम बुटाले गरे। सुरुदेखि नै आक्रामक बनेका बुटाले ३१ बलमा ५ चौका र ४ छक्काको मदतमा नटआउट ५९ रन जोडे।

नेपालका लागि करण केसी र पारस खड्काले समान २–२ विकेट लिए। यस्तै सोमपाल र सन्दीप लामिछानेको नाममा १–१ विकेट रह्यो।

जानकारी तथा लेखहरु