फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मल्लकालीन दरबार पुरानै शैलीमा पुनर्निर्माण गरिने

(GMT+08:00) 2019-01-29 15:20:16

भक्तपुरको मध्यपुर–थिमि नगरपालिकाले भूकम्पका कारण क्षतिग्रस्त मल्लकालीन दरबार (लायकु) पुरानै शैलीमा पुनर्निर्माण गर्ने भएको छ। उक्त दरबारमा आदर्श मावि सञ्चालन भइरहेको छ। विद्यालय प्रशासन र तीनवटा भवनमा सञ्चालित १० वटा कक्षाकोठा क्षतिग्रस्त भएको कान्तिपुर अनलाइनले लेखेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षा (सीएलपीआईयू) ले क्षतिग्रस्त विद्यालय भवन मौलिकशैलीमा पुनर्निर्माण गर्न अस्वीकार गरेपछि नगरपालिकाले पुनर्निर्माणको तयारी थालेको हो। 'क्षतिग्रस्त मल्लकालीन भवन पुनर्निर्माणका लागि करिब ७० लाख रुपैयाँ विनियोजन भएको थियो,' विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयकृष्ण श्रेष्ठले भन्नुभयो, 'सीएलपीआईयूले मौलिकशैलीको नक्सा अस्वीकार गर्दै विनियोजित बजेट फिर्ता गर्‍यो।' सीएलपीआईयूले डन्डी, सिमेन्टको प्रयोग गरी आरसीसी भवन निर्माण गर्ने अडान नछोडेको उहाँले बताउनुभयो।

स्थानीय बासिन्दा, विद्यालय व्यवस्थापन समिति र नगरपालिकाले मौलिक शैलीमै बन्नुपर्ने अडान लिएका थिए। भवन पुनर्निर्माणका लागि मध्यपुरथिमि नगरले चालु आर्थिक वर्ष २०७५/७६ मा १ करोड रुपैयाँ विनियोजन गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो।

भक्तपुरका अन्तिम राजा रणजित मल्लले आफ्नी गंगा महारानीका लागि निर्माण गरेको नौ तले दरबार विभिन्न कालखण्डमा भत्किएको र जीर्णोद्धार गर्ने क्रममा दुईतलामा सीमित भएको स्थानीय विकेश श्रेष्ठ बताउनुहुन्छ। तलेजु भवानी मन्दिर परिसरको उक्त भवन गंगा महारानीको इच्छाबमोजिम चारैतिर बाटो राखेर बनाएको भन्ने कथन छ।

गंगा महारानीले ७ वटा घर हटाउन लगाएर उक्त भवन निर्माण गर्न लगाएको कथन रहेको जनाएको छ। २०२१ मा स्थापना भएको आदर्श माविको भवन २०२३ मा जीर्णोद्धार भएको विद्यालयका प्रधानाध्यापक बुद्धिकुमार घोले बताउनुभयो।

नगरपालिकाले आदर्श मावि लायकुलाई नगरको नमुना विद्यालय घोषणा गरी सुविधासम्पन्न संरचना निर्माणलाई जोड दिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो। नमुना विद्यालयमा पूर्वाधार, स्वच्छ खानेपानी, शौचालय व्यवस्थापन, ल्याब निर्माण लगायत छन्। क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि उपभोक्ता समिति गठनको प्रक्रियामा रहेको प्रधानाध्यापक बुद्धिकुमार घोले बताउनुभयो। उपभोक्ता समितिमार्फत प्रशासन, १० वटा कक्षाकोठा सहितको दुईतले तीनवटा भवन निर्माण गरिने उनले बताए। भवन पुरातात्त्विक चुना, सुर्कीको प्रयोगमा दलिन राखेर बनाउने जनाएको छ। विद्यालयको दुईवटा भवन प्रबलीकरण गरिसकेको छ।

जानकारी तथा लेखहरु