फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विमानस्थलबाट ३६ किलो सुन जफत

(GMT+08:00) 2019-01-30 15:45:39

चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा त्रिभुवन विमानस्थलबाट ३६ किलो सुन जफत भएको छ। विदेशबाट आउने यात्रुले गैरकानुनीरूपमा ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरले चालु आर्थिक वर्षको पाँच महिनामा करिब ३६ किलो सुन जफत भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, 'परिमाणभन्दा बढीको हकमा जफत हुने व्यवस्था छ। सोही आधारमा सुन जफत गरिएको हो।'

विगतमा ५० ग्रामसम्म सुनका गहना सहजै ल्याउन सकिने व्यवस्था भए पनि काँचो सुन पूर्णप्रतिबन्ध थियो। आर्थिक ऐनमा विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुनमा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम पाँच हजार दुई सय रुपैयाँ र ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार दुई सय रुपैयाँ भन्सार लिने व्यवस्था छ।

आर्थिक ऐन २०७५ मा एक सय ग्रामसम्म सुन ल्याउने सकिने र एक सय ग्रामभन्दा बढी परिमाणमा सुन पैठारी गरेमा बढी भएको परिमाण जति जफत गरिने उल्लेख छ। यो व्यवस्थाले तस्करी बढ्न सक्ने भन्दै आलोचना भएको थियो।

विदेशबाट आउने यात्रुले १०० ग्रामसम्म सुन भन्सार तिरेर ल्याउन सक्छन्। सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुने र जफत गरिएको सुन बराबरको थप रकमसमेत तिर्नुपर्ने हुन्छ। जफत गरिएको सुन राष्ट्र बैंकमा बुझाउने गरिन्छ। उक्त सुनको बजार मूल्यअनुसारको रकम सरकारी खातामा जम्मा हुने ठाकुरले जानकारी दिनुभयो।

३३ किलो सुन तस्करी प्रकरणपछि सरकारले विमानस्थलमा कडाइ गर्दै आएको छ। सानोतिनो परिमाणका सुन विमानस्थलमा नियमितजसो समातिने ठाकुर बताउँछन्। दुई वर्षअघि तत्कालीन वहालवाला सांसद् शयन्द्र बान्तवालाई ६० ग्रामको सुनसहित भन्सार कर्मचारीले नियन्त्रणमा लिएका थिए। युरोप भ्रमणबाट फर्किएकी ती सांसदले काँचो सुन ल्याएकी थिइन्। पहुँचका आधारमा सांसद छुटेको स्रोतले जानकारी दिएको छ। तर, उनको जफत भएको सुनको धरौटी के हुने राजस्वले स्पस्ट पार्न सकेको छैन।

अवैधरूपमा काँचो सुन लिएर आएकी ती सांसदमाथि कारबाही प्रक्रियासमेत अघि बढेन। बाहिरिने क्रममा भन्सार जाँच भयो। जाँचमा उनी सुनसहित पक्राउ परेकी थिइन्। ट्याबलेट, नयाँ ल्यापटप, कम्प्युटर, मोबाइल, क्यामेरा, पेनड्राइभजस्ता विद्युतीय सामान पनि एक, एक थान ल्याउन पाउने व्यवस्था छ। जनवरी अघिसम्म यी सामानमा कडाइ गरिएको थिएन।

यस्तै विदेशमा एक वर्ष काम गरी फर्केकाले एकपटकमा ३२ इन्चसम्मको एउटा टीभी ल्याउन पाउने व्यवस्था छ। व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्णभन्सार छुट हुने गरेको छ। यसमा कपडा, बिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधोपचार गराई फर्केका बिरामीले ल्याउने औषधिमा भन्सार शुल्क नलाग्ने भन्सार कार्यालयले जनाएको छ। यस्तै शारीरिक अशक्तले सहाराका रूपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउने व्यवस्था छ।

सुनका गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहनामा भन्सार छुट छ। तोकिएभन्दा बढी ल्याए ऐनअनुसार कारबाही तथा जरिवाना हुने व्यवस्था छ।

जानकारी तथा लेखहरु