फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

झापाको बिर्तामोडमा मितेरी साहित्यिक सम्मेलन

(GMT+08:00) 2019-02-03 15:59:45

नेपाल र भारतको वर्तमान साहित्यिक अवस्थाका विषयमा छलफल गर्न झापाको बिर्तामोडमा दुई दिने मितेरी साहित्यिक सम्मेलन भएको छ। भारतका २५ र नेपालका १ सय ५० भन्दा बढी साहित्यकार सम्मिलित शुक्रबारबाट सुरु भएको सम्मेलन शनिबारसम्म सञ्चालन भएको आयोजक भवानी घिमिरे साहित्य प्रतिष्ठान झापाले जनाएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

सम्मेलनमा नेपाल र भारतका साहित्यकारले विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत गर्ने र सोही कार्यपत्रका विषयमा छलफल गरिने प्रतिष्ठानका अध्यक्ष साहित्यकार सरोज ओलीले जानकारी दिनुभयो। सम्मेलनको शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्‍घाटन गर्नु भएको थियो।

उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकारले साहित्यले देशको प्रचार विश्वभर पुर्‍याए पनि साहित्यको विकास र साहित्यकारको योगदानका लागि सरकारले उचित काम गर्न नसकेको गुनासो गरेका छन्। 'देशको राष्ट्रिय गीतको शब्ददेखि देश चिनाउने पुस्तकसम्म साहित्यकारको योगदान हुन्छ, तर देशले साहित्यकारको योगदान कहिले बुझेन,' साहित्यकार कृष्ण धरावासीले भन्नुभयो।

भवानी घिमिरे साहित्य प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका साहित्यकार कृष्ण धरावासीले झापा साहित्यको उर्वर भूमि भएको र साहित्यकार भवानी घिमिरेले झापामानै बसेर नेपाल र भारतका साहित्यकारलाई जोड्ने काम गरेकाले पनि मितेरी सम्मेलन झापामा राखेको बताउनुभयो।

उहाँले यो सम्मेलन नेपाल र भारतको साहित्यिक विकासका लागि महत्वपूर्ण कोशेढुङ्गा सावित हुने तर्क गर्नुभयो। दुई दिनसम्म चल्ने साहित्यिक सम्मेलनमा कार्यपत्रका विषयमा छलफल अतिरिक्त विचार गोष्ठी तथा कवि गोष्ठीको समेत आयोजना गरिने प्रतिष्ठानकी सदस्य धर्मशीला चापागाईंले बताउनुभयो।

जानकारी तथा लेखहरु