फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राजदूत होउ र नेपालका अर्थमन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2019-02-04 13:46:08

अर्थमन्त्री डा युवराज खतिवडाले मुस्ताङको कोरला नाकालाई सकेसम्म छिटो सञ्चालन गर्न चीनसँग आग्रह गर्नुभएको छ। भारत र चीन जोड्ने नेपालको छोटो मार्ग मुस्ताङको कोरला नाकामा चीन तर्फका व्यापारिक संरचनाहरु निर्माण भइसकेको भएपनि नेपाल तर्फ बाँकी नै रहेको स्मरण गराउँदै छिटो सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको हो। चिनियाँ राजदूत होउ यान छिसँगको भेटमा मन्त्री खतिवडाले यो नाका सञ्चालनमा आएसँगै त्रिदेशीय व्यापारमा सहज हुने बताउनुभयो। उहाँले दुई देशबीचमा हुने अनौपचारिक व्यापारलाई औपचारिक रुपमा रुपान्तरण गर्न पनि जोड दिनुभयो।

अर्थमन्त्री डा खतिवडाले चीनसँग सीमा जोडिएका ब्यापारिक नाका सञ्चालनमा आएमा नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताउनुभयो। संविधान कार्यान्वयन गर्दै आर्थिक विकास र समृद्धिमा अघि बढेकोले उत्तरी सिमा नाकाहरु संचालनमा आए पूर्वाधार निर्माणमा सहज हुने उहाँको भनाइ थियो। उहाँले दुबै देशका आपसी पारस्परिक व्यापारिक सम्झौताहरुलाई समय सापेक्ष परिमार्जन र सुधार गर्न आवश्यक भएको भनाई राख्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा भएका बिआरआई अन्तर्गतका केही आयोजनाहरु तयारी गरिएको विषय चीन सरकारलाई स्मरण गराउनुभयो।

भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न लामो समयदेखि थाँती रहेको चिनियाँ बैंकका शाखा नेपालमा विस्तार गर्न आवश्यक भएको उहाँको सुझाव थियो। पूर्वाधार तथा अन्तरदेशीय सडक सञ्जाल विकास गरी दुबै देशको व्यापार र पर्यटनमा सहयोग हुने मन्त्री खतिवडाले विश्वास व्यक्त गर्नुभयो।

भेटमा चिनियाँ राजदूत होउ यान छिले नेपालमा स्थिर सरकार भएकाले दुबै देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै पारस्परिक हित अभिबृद्धिबाट नेपालमा विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो। नेपाल सरकारको आर्थिक विकास र समृद्धिको लक्ष्य प्राप्तिलाई सघाउने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभएको नेपालखबर अनलाइनले लेखेको छ।

दुबै देशले एक आपसमा नजिकबाट सहकार्य गर्न चाहेको भन्दै यो सम्बन्ध दुबै मुलुकको लागि फाइदाजनक हुने विश्वास व्यक्त गर्दै उहाँले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो। उक्त सम्मेलनमा धेरै भन्दा धेरै चिनियाँ लगानीकर्ताहरुलाई सहभागी गराउन आवश्यक सहयोग गर्न चीन सरकार प्रतिवद्ध रहेको पनि उहाँले बताउनुभयो।

नेपालमा भौतिक संरचना निर्माण, पर्यटन, कृषि, उर्जा, भूकम्प पछिको पुर्ननिर्माण लगायतका परियोजनाहरुमा चीन सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो। आयोजनाहरु सम्पन्न गर्नको लागि आवश्यक समय चाहिने भन्दै राजदूत होउले नेपाल सरकारका विभिन्न मन्त्रालयका जिम्मेवार निकायहरुबाट समन्वय र सहयोगको वातावरण निर्माण गर्न आग्रह गर्नुभयो।

चिनियाँ सहयोगमा सञ्चालित आयोजनामा प्रयोग हुने सामाग्रीहरुमा कर छुटको बिषयमा देखापरेका समस्यालाई सहजीकरण गर्न नेपाल सरकारसँग आग्रह समेत गर्नुभएको थियो।

जानकारी तथा लेखहरु