फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल टेलिकमको फोरजी सेवा विस्तारबारे चिनियाँ कम्पनीसँग सम्झौता

(GMT+08:00) 2019-02-04 13:46:50

नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तार सम्बन्धी सम्झौता भएको छ। फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्‍यान)का लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता भएको हो।

यस सम्बन्धी छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिबीच हस्ताक्षर भएको नेपालखबर अनलाइनले लेखेको छ।

संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रही सो सम्झौता गरिएको टेलिकमले विज्ञप्तीमार्फत जनाएको छ।

नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा र्‍यान नेटवर्क तयार हुनेछन्। त्यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने टेलिकमले जनाएको छ। र्‍यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ। सम्झौता पश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने छ। नेपाल टेलिकमले मुलुकमै पहिलो पटक गत पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी/एलटीई सेवा सञ्चालन गरेको थियो। देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलेको रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुनेछ।

जानकारी तथा लेखहरु