फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनबाट साढे दुई वर्षमा चार अर्ब ७८ करोड बराबरको कृषि तथा वनजन्य सामग्रीको आयात

(GMT+08:00) 2019-02-07 14:04:02

चीनबाट साढे दुई वर्षमा चार अर्ब ७८ करोड बराबरको कृषि तथा वनजन्य सामग्रीको आयात भएको छ। सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका हुँदै चार अर्ब ७८ करोड ७६ लाख ६ हजार मूल्य बराबरको कृषि तथा वनजन्य सामग्री आएको छ। आर्थिक वर्ष ०७३/७४ मा दुई अर्ब पाँच करोड १२ लाख २७ हजार, आव ०७४/७५ मा एक अर्ब १९ करोड २२ लाख ६६ हजार र चालु आवको ६ महिनामा एक अर्ब ५४ करोड ४१ लाख १३ हजार दुई सय ७८ रुपैयाँको सामग्री आएको क्वारेन्टाइन कार्यालय टिमुरेले जनाएको छ। पछिल्लो समय सामग्री आयात तथा निर्यात दुवै बढेको वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेले बताउनुभयो।

यसैबीच यो नाका हुँदै सबैभन्दा बढी स्याउ आयात हुने गरेको छ। चालु आवको पहिलो ६ महिनामा एक अर्ब ३० करोड ७० लाख ३६ हजार सात सय २० रुपैयाँ बराबरको १६ हजार तीन सय ३७ मेट्रिक टन स्याउ आएको छ। गत वर्षको पहिलो ६ महिनामा ८३ करोड २३ लाख ३४ हजार एक सय ६० रुपैयाँको १० हजार चार सय पाँच मेट्रिक टन स्याउ आएको थियो। आयात भएको सामग्रीमध्ये दोस्रोमा लसुन परेको छ। १० करोड ६३ लाख ८३ हजार एक सय २५ रुपैयाँको आठ सय ५१ मेट्रिक टन लसुन आएको हो। चीनबाट स्याउ, नासपाती, लसुन, प्याज, तयारी मसला, गुन्द्रुक, ड्राइ मसरुम, प्याज, बोडी, धानको बिउ, पिठो, ओखर, बदाम, अचार, कफी, ग्रिन टी र सुकेको बयर आयात हुने गरेको छ। फलफूल, मसलाबाली, तरकारीबाली, खाद्यान्नबाली, तेलबाली, बिउबाली र अन्य सामग्री नेपाल भित्रने गरेको नागरिकन्यूज डटकमले जनाएको छ।

जानकारी तथा लेखहरु