फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वसन्तचाडमा रमाउँदै चीनमा रहेका नेपालीहरू

(GMT+08:00) 2019-02-07 14:04:39

'दसैं अवधिको काठमाडौँको भान हुन्छ, दुई तीन दिन त एकदमै दिक्दारी लाग्छ', वसन्त चाडको बेलामा चीनमा अध्ययन तथा कार्यरत् प्राय सबै नेपालीले यसै भन्छन्। हाल चीनमा वसन्त चाडको रौनक छ। जताततै राता रङ्गका लालटिन र यस्तै सजावटले सिँगारिएको छ, चीन। वसन्त चाडसँगै चिनियाँहरूले आफ्नो परम्परागत नयाँ वर्षको स्वागत गर्दछन्। यही फेब्रवरी ५ तारिख चिनियाँहरूको नयाँ वर्ष हो। चिनियाँ पात्रो अनुसार, यस वर्ष सुङ्गुर वर्ष हो।

हरेक बाह्र वर्षमा एक पटक आउने यी जनावरअङ्कित् चिनियाँ वर्षले नेपाली न्वारन या अङ्ग्रेजीको जन्म मिति अनुसारको राशीको जस्तै विशेषता पनि बोकेको हुन्छ। यो बाह्र जनावरमा अन्तिम हो र चिनियाँहरू सुङ्गुरलाई खुसी र सौभाग्यको रूपमा लिन्छन्।

यी बाह्र जनावरको आ-आफ्नै महत्व र विशेषता भए पनि हरेक वर्षको वसन्त चाड भने सधैँ उस्तै राताम्मे हुने गर्छ। बजारहरू चाड नजिकिएसँगै झकिझकाउ र मानिसले भरिभराउ हुन्छ भने नयाँ वर्षको दिन अघिपछि जताततै शून्य हुन्छ र लगत्तै पर्यटकीय स्थल र पार्कहरूमा मानिसको भिड थाम्नै नसक्ने किसिमले लाग्ने गर्छ, अन्नपूर्ण पोस्टले लेखेको छ।

'पहिले पहिले पटाका पड्काएको हेर्न पाउँदा निकै नै रमाइलो लाग्थ्यो तर अहिले त्यसमाथि प्रतिबन्ध लगाएको छ।' बेइजिङमा काम गर्दै आएका पुजव प्रधान यसो भन्छन्। चिनियाँसँग घरजम बसाएका सुवर्ण डङ्गोल वसन्त चाडबारे यसो भन्छन् – 'यो पर्व चिनियाँहरूका लागि नेपालीको दसैं जस्तै हो। सपरिवार बसेर पूर्वसँध्याको दिन विशेषत माछा, सुङ्गुरको खुट्टा र ममचा खाने र नयाँ वर्षको दिन दसैंको टीका थाप्नेजस्तै अग्रज आफन्तकहाँ गइ आशिक लिने।

पछिल्लो समय चिनियाँहरूले विदेश भ्रमण पनि खुबै गर्ने गरेका छन्। चिनियाँ अनलाईनटिकट वेबसाइट फ्लिग्गीडटकमका अनुसार, यस अवधिमा ४३ प्रतिशत चिनियाँहरूले परिवारसँगै विदेश भ्रमण गर्ने योजना बनाएका छन्। अर्को वेबसाइट सिट्रिपका अनुसार, यस अवधिमा ७० लाख चिनियाँहरू नब्बेभन्दा धेरै देशको भ्रमण गर्दैछन्। यसै अवधिमा यूनिभर्सिटीमा पनि एक सेमिस्टरको समापनसँगै ३०/४० दिनको विदा हुन्छ र अध्ययनरत नेपाली विद्यार्थीहरू कोही देश फर्कन्छन् कोही विदेश यात्रा गर्छन् र त्यसबाहेक चीनभित्रकै ठूला साना शहरको भ्रमण गर्छन्। चिनियाँहरूले वसन्त चाड मनाइरहँदा दसैं र आफ्नो घरपरिवार सम्झन्छन्।

'चिनियाँ चाड र चालचलनबारेको अनुभव सँगाल्दै छु', छिङ्गह्वा यूनिभर्सिटीमा अध्ययनरत सङ्गीत सङ्ग्रौला भने पहिलो पटकको वसन्त चाड नै चिनियाँ परिवारसँगै मनाउन पाएकोमा खुसी छन्। उनी थप्छन्, 'नेपाल जानुको सट्टा मसँगै पढ्ने साथीसँग चीनको भित्री मङ्गोलियामा आएर उसैको परिवारसँग चिनियाँ चाड मनाउन पाएको छु। विभिन्न परिकारको स्वाद र जमघटले रमाइलो अनुभव भएको छ।'

थ्येनचीनस्थित नानकाई यूनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयमा मास्टर्समा अध्ययनरत् कल्की ढकाल पौड्यालले दसैंतिहारको सम्झना दिलाएको भन्दै चालचलन पनि मिल्दोजुल्दो लागेको बताइन्।

पुजव प्रधानजस्तै बेइजिङमा काम गर्दैआएका प्रयास पोखरेल पनि नेपाल फिरेका छन्। बेइजिङस्थित बेइजिङ यूनाइटेड फेमिली हस्पिटल एण्ड क्लिनिक्समा कार्यरत डा. विकास राईले यस पटक विदा पाएका छन्। विगत पाँच वर्षदेखि लगातार वसन्त चाडमा खटेका उनी यस पटक भने परिवारसँग रमाइलो गर्ने मुडमा छन्।

जानकारी तथा लेखहरु