फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा जारी हिरो गोल्डकप महिला फुटबलमा नेपाल फाइनलमा प्रवेश

(GMT+08:00) 2019-02-14 13:54:14

 

आफूभन्दा उच्च वरीयताका भारत र इरानलाई पराजित गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोली उडिसामा जारी हिरो गोल्डकप फुटबलको फाइनल पुगेको छ। चार टोलीसम्मिलित प्रतियोगितामा नेपालको प्रदर्शन बहादुरीपूर्ण रह्यो। अब उपाधिका लागि नेपालले म्यानमारसँग खेल्ने कान्तिपुर अनलाइनले लेखेको छ।

समूह चरणको अन्तिम खेलमा बुधबार फिफा वरीयतामा १ सय ८ औं स्थानको नेपालले ४८ स्थान माथिको इरानलाई ३–० ले पराजित गरेरमात्र फाइनल यात्रा तय भइसकेको थिएन। दिनको दोस्रो खेलमा म्यानमारले घरेलु टोली भारतलाई २–० ले पराजित गरेपछि नेपालको फाइनल यात्रा सजिलो भएको थियो।

त्यसमा भारत विजयी भएको भए समीकरण परिवर्तन हुनसक्थ्यो। समूहमा शतप्रतिशत जितसहित म्यानमारले ९ अंक जोड्यो भने नेपालले ६ अंक बनायो। समूहमा शीर्ष दुई स्थानमा रहेकाले यी दुई फाइनललाई छनोट भएका हुन्।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारसँग ३–० को पराजय

बेहोरेको थियो। त्यसयता उत्कृष्ट पुनरागमन गरेको नेपालले भारतविरुद्ध २–१ को ऐतिहासिक जित निकाल्यो। महिला फुटबलको सिनियर टोलीले भारतलाई हराएको त्यो पहिलो हो।

सोही रंगशालामा नेपालले इरानको चुनौती पन्छाउँदै उत्कृष्ट टिम गेमको नमुना प्रस्तुत गर्‍यो। अग्रपंक्तिले निरन्तर गोल निकालिरहँदा रक्षापंक्तिले विपक्षीलाई कुनै मौका दिएनन्। अनिता बस्नेतले ४० औं मिनेटमा सानदार 'भली' मार्फत् गोल गरी नेपाललाई पहिलो हाफमा अग्रता दिलाएकी थिएन्।

दोस्रो हाफमा मुख्य स्ट्राइकर सावित्रा भण्डारीले दुई गोल गरेपछि नेपालले सहज जित पाएको हो। उनले ५९ र ८९ औं मिनेटमा गोल गरिन्। सावित्रा प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि हुन्। उनले भारतविरुद्धको जितमा पनि दुवै गोल गरेकी थिइन्।

'सुरुको ३० मिनेटभित्र हामीलाई निकै गाह्रो भएको थियो,' सावित्राले भनिन्, 'हामी काउन्टर एट्याककै रणनीतिमा थियौं। मैले लगेका बलहरू गोल भएका थिएनन्, पहिलो हाफको अन्तिममा अनिताले गोल गरेपछि दोस्रो हाफमा इरानी टिम दबाबमा आयो, अनि हामीलाई खेल्न सजिलो भयो।'

उनले फाइनलबारे भनिन्, 'योजना बनिसकेको त छैन, भोलि (बिहीबार) को टिम मिटिङमा छलफल हुनेछ तर हामीले काउन्टर एट्याक नै खेल्नुपर्छ।'

नेपाली टिमका मुख्य प्रशिक्षक हरिखड्काले सावित्रा आफ्नो टोलीको हतियार भएको बताए। 'सवित्राले लगातार खेलमा गोल गरिरहेकी छन्। उनको मनोबल बढेको छ र स्कोरिङ क्षमता पनि दिनदिनै बढ्दो छ,' उनले भनेका छन्, 'उनी हाम्रो टिमकी हतियार हुन्।' उनले प्रशिक्षकको रूपमाआफ्नो टिमको प्रदर्शनबाट पूर्ण सन्तुष्ट रहेको पनि बताए।

'हामी अन्डर डग टिमको रुपमा प्रतियोगितामा सहभागी थियौं। प्रतिस्पर्धी सबै उच्च वरीयताका थिए। तर मेरा खेलाडीले जुन विश्वास र योजनामा टिकेर खेले, आफ्नो क्षमता देखाए, जितको सबै श्रेय टिमलाई जान्छ,' प्रशिक्षक खड्काले भने, 'हामीले शुक्रबार म्यानमारसँग खेल्दैछौं र त्यसका लागि हाम्रो मनोबल उच्च भएको छ।'

फागुन २८ देखि विराटनगरको सहिद रंगशालामा हुने महिला साफ च्याम्पियनसिप र सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोटको तयारीका रूपमा नेपालले प्रतियोगितामा सहभागिता जनाएको हो। सहभागी टोलीमध्ये नेपाल कमजोर आँकलन गरिएको थियो। फिफा वरीयतामा पनि म्यानमार (४४), इरान (६०) र भारत (६२) औं स्थानमा थिए।

नेपाली महिला टिमले फाइनलमा स्थान बनाएको यो तेस्रो प्रतियोगिता हो। यसअघि साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदको फाइनल नेपालले खेलेको थियो।

जानकारी तथा लेखहरु