फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २०७६ असार १३ सम्म परीक्षण उडानको तयारी

(GMT+08:00) 2019-02-16 14:11:52

चिनियाँ कम्पनीले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा अगाडि बढेको छ। हाल विमानस्थलको धावनमार्गमा कालोपत्रेको काम भइरहेको छ। राष्ट्रिय गौरवका अन्य आयोजनाको प्रगति न्यून र आशातीत रूपमा राम्रो नभइरहेको अवस्थामा गौतमबुद्ध विमानस्थलको काम दिनमा मात्रै नभई रातिसमेत भइरहेको छ, जसले गर्दा निर्माणको प्रगति बढेको गोरखापत्र अनलाइनले लेखेको छ।

चार तहको कालोपत्रे गर्नुपर्ने धावनमार्गमा दुई तहको कालोपत्रे सम्पन्न गरी अहिले तेस्रो तहको पनि करिब सम्पन्न हुने अवस्थामा छ। एक दर्जन बढी निर्माण उपकरण धावनमार्ग कालोपत्रे गर्न परिचालन गरिएको छ।

विमानस्थलको अन्य भौतिक निर्माणको कामसमेत द्रुत गतिमा नै अगाडि बढाइएको छ। अन्तर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर, कार्यालय भवन, विद्युत् सव स्टेसन, अग्नि नियन्त्रक कक्ष, पानी ट्याङ्की, सुरक्षाकर्मीको आवासगृहको कामसमेत अन्तिम चरणमा पुगेको छ। ट्याक्सी लेनको निर्माण भने सम्पन्न भइसकेको छ।

कुल तीन हजार मिटर लामो धावनमार्गको कालोपत्रे सकिएपछि आयोजनाको भौतिक प्रगति ७० प्रतिशत माथि पुग्ने र अहिले ६५ प्रतिशत बढी काम भइसकेको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिनुभयो। धावनमार्ग, अन्तर्राष्ट्रिय एप्रोन तथा अन्य भौतिक निर्माणको कामसँगै एयर ट्राफिक कन्ट्रोलका लागि आवश्यक पर्ने उपकरणको आयात तथा जडानका लागि समेत आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।

२०७६ असार १३ सम्म सञ्चालनयोग्य बनाउने गरी काम भइरहेको छ। असारसम्ममा परीक्षण उडान गरी त्यसको २÷३ महिनादेखि नियमित उडान गर्ने आयोजना प्रमुख अधिकारी बताउनुभयो।

विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जाका लािग चार अर्ब रुपियाँ निकासा भएको छ। पछिल्लोपल्ट जग्गा अधिग्रहण गर्दा कुल २३ अर्ब रुपियाँ मुआब्जा लाग्ने अनुमान गरिएकोमा अहिलेसम्म १० अर्ब रुपियाँ वितरण गरिसकिएको छ। बाँकी १३ अर्ब रुपियाँमध्ये चार अर्ब रकम आइपुगेको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख प्रवेश अधिकारीका अनुसार उक्त रकम अर्थबाट निकासा भएर राष्ट्रिय गौरवको आयोजनामा आइसकेकाले एक–दुई दिनमै वितरण शुरु गरिने छ।

"चालु आर्थिक वर्षको पहिलो किस्ता पाँच अर्ब २० करोड रुपियाँ आएर वितरणसमेत भइसकेको छ। यो आइपुगेको रकम दोस्रो किस्ताबापतको हो"– आयोजना प्रमुख अधिकारीले भन्नुभयो। विमानस्थल सञ्चालनमा आइपुग्दा मुआब्जाबापतको सबै रकम चुक्ता गरिसक्ने आयोजनाले तयारी गरेको छ।

सबै जग्गा अधिग्रहण भएर सञ्चालनमा आउँदा यो क्षेत्रफलको दृष्टिले सबैभन्दा ठूलो विमानस्थल हुने अधिकारीले बताउनुभयो। अहिलेसम्म पोखरामा तीन हजार सात सय रोपनी, काठमाडौँमा सात हजार रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन भइरहँदा भैरहवामा बन्ने विमानस्थल १० हजार रोपनीमा बन्ने भएको हो।

दुई वर्षभित्र निर्माण सक्ने गरी सम्झौता गरिएको भवन ठेकेदारले डेढ वर्षभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको विमानस्थल निर्माण आयोजनाले जनाएको छ। गौतमबुद्ध विमानस्थललाई केन्द्र बनाएर जापान, चीन, श्रीलङ्का, भियतनाम, म्यानमार र कम्बोडियालगायतका देशले अन्तर्राष्ट्रिय उडानका लागि इच्छा व्यक्त गरेका छन्।

एडीबीको छ अर्ब २२ करोड ५१ लाख ऋण तथा अनुदान सहयोगमा निर्माण भइरहेको विमानस्थल बीचबीचमा आएका समस्याका कारण लागत बढेर छ अर्ब ८२ करोड ४० लाख पुगेको छ।

जानकारी तथा लेखहरु