फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लामो प्रतीक्षापछि भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन परियोजना अन्तिम चरणमा

(GMT+08:00) 2019-02-23 19:07:57
बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत नेपालतर्फ पाइप लाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ। करीब ७० किलोमिटर लामो उक्त परियोजनाको नेपालतर्फको ३६ मध्ये २७ किलोमिटर पाइप लाइन बिच्छ्याउने कार्य सम्पन्न भइसकेको छ । बाँकी नौ किलोमिटर वन क्षेत्रमा परेकाले रुख काट्ने काम केही दिनभित्र शुरु गरिने नेपाल आयल निगमले जनाएको छ।

उक्त परियोजनाअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने छ हजार ५५३ रुख काट्न निगम र टिम्बर कर्पोरेशन अफ नेपालबीच केही दिनभित्रै सम्झौता हुने आज आयोजित पत्रकार सम्मेलनमा निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो।

आगामी वैशाखभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि रुख कटानमा ढिलाई हुँदा परियोजना सम्पन्न हुन केही समय लाग्ने निगमले जनाएको छ। पाइप लाइन परियोजना जतिसक्दो छिटो सम्पन्न गर्ने गरी काम अघि बढाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो।

सन् २०१५ को अगष्टमा उक्त परियोजना सम्पन्न गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ देखि २५ गतेसम्म गर्नुभएको औपचारिक भारत भ्रमणका क्रममा भारतीय समकक्षीको उपस्थितिमा नयाँ दिल्लीबाटै पाइपलाइन निर्माण कार्यको शुभारम्भ भएको घोषणा गरिएको थियो। कारोबार अनलाइनका अनुसार नेपालतर्फ गत वैशाखदेखि पाइपलाइन बिच्छ्याउने कार्य शुरु गरिएको थियो।

पाइप लाइन पूर्ण रुपमा जमिनमुनीबाट बिच्छ्याएर ल्याउने कार्य भइरहेको छ। रक्सौलदेखि अमलेखगन्जसम्म प्रायःजसो स्थानमा २.५ मिटर गहिराइमा पाइप बिच्छ्याइएको निगमका इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिनुभयो।

परियोजना सम्पन्न भएपछि नेपालतर्फ हुने पेट्रोलियम पदार्थको ढुवानी सुनिश्चित हुने निगमको दाबी छ । विभिन्न पक्षबाट हुने बन्द, हड्ताल र अवरोधका समयमा पनि व्यवस्थित रुपमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहजता आउनुका साथै पेट्रोलियम पदार्थको चुहावट र उच्च ढुवानी लागतसमेत कम हुने निगमले जनाएको छ।

यसैबीच पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक पौडेलले आफू जहिले पनि निगम सुधारको पक्षमा लागि रहने बताउनुभयो। आफूले निगममा कानूनी तथा साङ्गठिनक सुधारको प्रक्रिया शुरु गरिसकेको जानकारी दिँदै उहाँले निगमका तर्फबाट सेवाग्राही समक्ष कर्मचारीले गर्ने व्यवहारमा निकै परिवर्तन आएको जिकिर गर्नुभयो।

इन्धन आपूर्तिमा केही अवरोध आउने वित्तिकै मुलुकभर इन्धनको हाहाकार हुने अवस्थाको अन्त्य गर्न इन्धनको पूर्ण क्षमतामा भण्डारण गर्न निर्देशन दिइएको उल्लेख गर्दै कार्यकारी निर्देशक पौडेलले निगमकै इतिहासमा इन्धनको उच्चतम् भण्डारण गरिएको बताउनुभयो।

जानकारी तथा लेखहरु