फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालद्वारा हङकङ पराजित'

(GMT+08:00) 2019-02-25 14:06:21

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ। थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको लिग चरणको खेलमा हङकङले दिएको ६३ रनको सामान्य लक्ष्यलाई नेपालले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

नेपालका लागि अप्सरा बेगमले सर्वाधिक २४ रनको योगदान दिइन् भने सीता रानामगरले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन्। बलिङतर्फ हङकङकी जसमिनी टिटमुसले तीन विकेट लिँदा सान तो, मारिको हिल र क्यारी चानले एक एक विकेट झारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६२ रनमा समेटिएको थियो। हङकङका लागि मरीना लाम्पलोले सर्वाधिक १९ रन जोडिन् भने यास्मिन दसवानीले १६ तथा बेला पुनले ११ रन जोडे।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालकी नेरी थापा एक्लैले ६ विकेट लिइन् भने सरिता रानामगरले २ विकेट झारिन्। जितसँगै नेपालले ६ अङ्क जोडेको छ।

जारी प्रतियोगितामा नेपाललको यो तेस्रो जीत हो। यसअघि नेपालले मलेशियालाई ३४ रनले हराएको थियो भने संयुक्त अरब इमिरेटस (युएई) लाई ७ विकेटले पराजित गरेको थियो।

नेपाल थाइल्याण्डसँग भने ५७ रनले पराजित भएको थियो। राउण्ड रोबिनका आधारमा हुने उक्त छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट–२०१९ प्रतियोगितामा खेल्नेछ।

एशिया छनोटमा नेपालसहित सात राष्ट्र प्रतिस्पर्धारत छन्। छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन्। नेपालले लिग चरणको आफनो पाँचौँ खेल भोलि सोमबार चीनको सामना गर्नेछ।

जानकारी तथा लेखहरु