फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवन राष्ट्रिय निकुञ्जद्वारा चार गैँडाको उद्धार

(GMT+08:00) 2019-02-25 14:07:09

चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा विभिन्न क्षेत्रबाट चार गैँडाको उद्धार गरेको छ। मानवबस्तीमा नियमित पसेर धनजन तथा बालीको क्षति गर्ने र बाढीले बगाएका गैँडाको उद्धार गरी निकुन्जको मुख्य क्षेत्रमा छाडिएको हो। निकुञ्जको पश्चिम सेक्टरबाट बस्तीमा निस्केका र बाढीले बगाएका चार गैँडाको उद्धार गरेर निकुञ्जको पूर्वी सेक्टरमा छाडिएको प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

निकुञ्जले यो अवधिमा भरतपुर महानगरपालिकाको मङ्गलपुर र रामपुर, नवलपरासीको सुस्ता र माडीबाट गैँडा नियन्त्रणमा लिएको हो। भरतपुर र माडीमा मानव बस्तीमा निरन्तर पस्न थालेपछि र धनजनको क्षति गर्न थालेपछि नियन्त्रणमा लिइएको हो। सुस्ताबाट बाढीले बगाएको गैँडालाई उद्धार गरी कसारा क्षेत्रमा छाडिएको थियो।

"निकुञ्जको पूर्वी सेक्टरमा भन्दा पश्चिम सेक्टरमा गैँडा धेरै भेटिएको छ", उहाँले भन्नुभयो, "त्रिवेणीभन्दा माथि भएका गैँडालाई पूर्वी क्षेत्रमा सार्ने योजना बनाएका छौँ।" यस वर्ष हुने गैँडा गणनापश्चात विभाग र प्राविधिकको सल्लाहअनुसार गैँडा सार्ने काम गरिने उहाँको भनाइ छ।

हालको गैँडाको सङ्ख्यालाई आधार मान्ने हो भने अहिले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा सार्नु जरुरी देखिएको निकुञ्जले जनाएको छ। "कुनै पनि संरक्षित क्षेत्रको वन्यजन्तु सङ्ख्या धान्न सक्ने क्षमता (केरिङ क्यापासिटी) हुन्छ", राष्ट्रिय प्रकृति संरक्षण कोषका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले भन्नुभयो, "पूर्वभन्दा पश्चिम सेक्टरमा धेरै गैँडा छन्।" उहाँले बाढीका कारण पूर्वी क्षेत्रबाट बगाएर ल्याएका गैँडाको सङ्ख्या पश्चिम क्षेत्रमा बढेको बताउनुभयो।

उपयुक्त बासस्थान भएका कारण चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या वृद्धि भइरहेको उल्लेख गर्दै उहाँले घाँसेमैदान व्यवस्थापन र पानीका स्रोत बढाउन आवश्यक रहेको बताउनुभयो। बासस्थानका हिसाबले भारतको काजिरङ्गापछि गैँडाको सङ्ख्याको आधारमा एशियाकै दोस्रो ठूलो उत्कृष्ट संरक्षित क्षेत्र चितवन भएको बताइएको छ।

फर्मा एण्ड हेल्थ एक्सपो हुँदै

मरणोपरान्त अङ्गदानको सामाजिक अभियानसहित यहाँ यही फागुन १७ गतेदेखि सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो २०१९ हुने भएको छ। प्रदर्शनी केन्द्रमा हुने सातौँ संस्करण पहिलोपटक काठमाडौँ बाहिर भरतपुरमा हुन लागेको हो। यसअघिका छ संस्करण काठमाडौँमा सम्पन्न भएका थिए।

मेडिकल हवको रुपमा विकास हुँदै गइरहेको चितवनलाई औषधि उद्योगको हवका रुपमा विकास गर्ने योजनासहित एक्स्पो आयोजना गरिएको नेपाल औषधि उत्पादक सङ्घका वरिष्ठ उपाध्यक्ष तथा एक्स्पो आयोजक मूल समारोह समितका संयोजक नारायणबहादुर क्षेत्रीले बताउनुभयो। उहाँले चितवनमा निर्माण हुनलागेको औद्योगिक क्षेत्रलाई औषधि उद्योगको हव बनाउन पहल भइरहेको जानकारी दिनुभयो।

"नेपालमा अतिआवश्यक औषधिको ८० प्रतिशत उत्पादन यही गर्न सकिन्छ", क्षेत्रीले भन्नुभयो, "नेपाललाई औषधिमा आत्मनिर्भर बनाउनका लागि पनि एक्सपो आयोजना गरेका हौँ।" नेपाल औषधि उत्पादक सङ्घको आयोजनामा हुने एक्स्पोको सहआयोजकमा औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएसन, नेपाल प्राइभेट अस्पताल सङ्घ र नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घलगायत छन्।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा विगतको सफलताको अनुभूतिलाई आत्मसाथ गर्दै प्रर्दर्शनीमा सम्बन्धित विधाका चिकित्सक, फर्मासिष्ट, स्वास्थ्यकर्मी, उद्यमी, सम्बन्धित विधामा अध्ययनरत विद्यार्थी गरी करीब पाँच हजारले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ। आयोजकले विद्यार्थीका लागि नेपाली तथा अन्तर्राष्ट्रिय उद्योग, उपकरण, प्रविधि, उत्पादन र बजार व्यवस्थापनलाई बुझ्न मेला सुनौलो अवसर हुने विश्वास लिएको छ।

करीब २०० विभिन्न औषधि उत्पादनसँग सम्बन्धित उद्योग, नेपालका मेडिकल कलेज तथा अस्पताल, स्वास्थ्य तथा औषधिसँग सम्बन्धि कक्ष प्रदर्शनीमा रहनेछन्। तीन दिनसम्म चल्ने प्रदर्शनीमा विभिन्न विषयका नौ कार्यपत्र प्रस्तुत हुनेछन्। नेपालमा ५३ औषधि उद्योग छन् भने दर्जन बढी उद्योग निर्माणको चरणमा छन्। आयुर्वेद उद्योग पनि साना–ठूला गरी करीब ५० उद्योग छन्।

जानकारी तथा लेखहरु