फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वैदेशिक रोजगारीमा नेपालीको संख्या १४ प्रतिशतले घट्यो

(GMT+08:00) 2019-02-25 14:07:35

नेपाल सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा नै रोजगारी दिने योजना ल्याइरहेका बेला विदेश जाने नेपालीको संख्या पनि घटेको देखिएको छ। मलेसिया र कतार संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या १४ प्रतिशतले घटेको देखिएको कारोबार अनलाइनले लेखेको छ। यसको असर तत्काल रेमिट्यान्स आप्रवाहमा नदेखिए पनि अर्को वर्ष भने रेमिट्यान्स घट्ने देखिन्छ। गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालू आर्थिक वर्षको माघसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या १४ प्रतिशतले घटेको हो। खाडी राष्ट्रमा आएको आर्थिक मन्दी र मलेसिया जान रोक लगाएसँगै चालू आर्थिक वर्षको ७ महिनासम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या एक्कासी घटेको देखिन्छ। चालू आवको माघ महिनासम्ममा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ४४ हजारले घटेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। यो संख्या संस्थागत, नयाँ, पुनः प्रवेश र वैधानिकीकरणसहित श्रम स्वीकृतिको संख्यामा घटेको हो। आर्थिक वर्ष २०७४-२०७५ को ७ महिनामा मात्र वैदेशिक रोजगारीका जाने युवाको संख्या ३ लाख ३१ हजार रहेकोमा चालू आर्थिक वर्षको सो अवधिमा घटेर २ लाख ८७ हजारमा कायम भएको छ। मलेसिया जाने कामदारको कामदारको संख्यामा उल्लेख्य रूपमा कमी आएको देखिन्छ। सरकारले मलेसिया कामदार पठाउदा ठगी भएको भन्दै जेठ महिनाबाट मलेसिया जाने नयाँ कामदारलाई रोक लगाएको थियो। गत वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको माघ महिनासम्म मलेसिया रोजगारीका लागि जाने नेपालीको संख्या मात्र ७९ प्रतिशत अर्थात ६८ हजार ५ सय ५६ ले घटेको छ। बाँकी रहेको २१ प्रतिशत अर्थात १८ हजार ५२६ पुनः श्रम स्वीकृति लिएर जाने कामदारको संख्या मात्र हो।

गत आवको ७ महिनामा ८७ हजार ८२ नेपाली युवा रोजगारीका लागि मलेसिया गएका थिए। मलेसियामात्र होइन खाडी राष्ट्र जाने कामदारको संख्या समेत यो अवधिमा घटेको देखिन्छ। नेपालका प्रमुख गन्तब्य मुलुकमा मलेसिया, कतार, साउदी अरब, यूएई, कुवेत, बहराइन, ओमन, दक्षिण कोरिया, लेबनान, इजरायल, अफनानिस्तान, जापान, मकाउ प्रमुख रहे पनि ९० प्रतिशत कामदार खाडी र मलेसिया जाने गरेका छन्। वैदेशिक रोजगारीमा विदेश जाने नेपालीको संख्या घटनु नेपाली अर्थतन्त्रका लागि सकारात्मक भए पनि नेपालको वैदेशिक व्यपार घाटालाई सन्तुलन गर्ने विप्रेषण (रेमिट्यान्स) घट्ने संकेत भने चुनौतीपूर्ण देखिन्छ। नेपाल राष्ट्र बैंकले एक वर्षअघि सार्वजनिक गरेको 'निःशुल्क भिसा तथा टिकटको प्रावधानको वैदेशिक रोजगारीमा प्रभाव' बारेमा गरेको अध्ययनले राजनैतिक स्थिरतातर्फ देश उन्मुख भएर आन्तरिक आर्थिक गतिविधिहरू पनि बढेकोले देशभित्रै काम पाउने स्थिति भएकोले वैदेशिक रोजगारमा जानेको संख्यामा कमी आएको उल्लेख गरिएको छ। वैदेशिक रोजगार विभागबाट कामदारको मागमा प्रदान भएको पूर्वस्वीकृतिअनुसार निःशुल्क भिसा र टिकट प्रावधान लागू भएपश्चात् मलेसियासहित खाडीका सात देशहरूबाट नेपाली कामदारहरूको मागमा कमी नआएको उल्लेख छ।

यसरी हेर्दा वैदेशिक रोजगारी विदेश जाने नेपालीको घट्नुमा निःशुल्क भिसा र टिकट प्रावधानको भूमिका नरहेको राष्ट्र बैंकको अध्ययनले उल्लेख गरेको छ।पछिल्लो दुई वर्षमा राष्ट्र बैकको अध्ययनविपरीत मलेसिया र साउदी अरेबियाबाट हुने कामदारको मागमा भने धेरै कमी आएको छ। समग्रमा कामदारको मागमा कमी नआएपनि वैदेशिक रोजगारीमा जानेहरूको संख्या भने पछिल्ला वर्षहरूमा घट्दै गएको छ। यसको अर्को प्रमुख कारणमा मागभन्दा पनि आपूर्ति पक्ष बढी जिम्मेवार देखिएको राष्ट्र वैकको प्रतिवेदनमा उल्लेख छ।नेपाली अर्थतन्त्रमा वैदेशिक रोजगारी र विप्रेषण आप्रवाहले गरिवी निवारण एवम् सामाजिक विकासमा विप्रेषणको उच्च योगदान रहेको छ। कामका लागि विदेश जाने कुल व्यक्तिमध्ये करिब ९५ प्रतिशत सरकारले निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेका देशहरूमा जाने गरेका छन्। त्यसैगरी नेपाल भित्रिने कुल विप्रेषणमा यी देशहरूको हिस्सा करिब ७० प्रतिशत छ।

जानकारी तथा लेखहरु