फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महिनाभित्र तयार हुने

(GMT+08:00) 2019-03-09 14:41:48

सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महिनाभित्र तयार हुने भएको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करिब पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीले जानकारी दिएका छन्। अप्रिल महिनामा चिनियाँ पक्षले निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गर्नेछ।

करीब ९० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुईतले भवन निर्माण गरिएको छ। भवनमा अध्यागमन, भन्सार, बैंक लगायतका कार्यालय रहनेछन्। दोस्रो भवन कर्मचारीको आवास हुनेछ। मितेरी पुलदेखि ६ किलोमिटर पश्चिम भोटेकोशी गाउँपालिकाको लार्चामा बनिरहेको बन्दरगाहमा १५८ ठूला मालवाहक ट्रक र २३ साना गाडी जाँच गर्न सकिने छ। १०० मेट्रिकटनसम्म सामान बोकेका गाडी एकै पटक तौलिन सक्ने मेसिन राखिने समितिले जनाएको छ। बन्दरगाहमा आयात र निर्यातका लागि छुट्ठाछुट्टै टर्मिनल निर्माण गरिएको छ। बन्दगाहका लागि आवश्यक क्वारेनटाइन, गोदाम घर, जाँचपास याड, चेकपोष्टलगायतका संरचना निर्माण भइरहेका छन्। अरनिको राजमार्गबाट बन्दरगाह जोड्नका लागि भोटेकोशी नदीमाथि पुल निर्माण भइरहेको छ। नेपाल–चीन द्विपक्षीय सम्झौता भएर विसं २०६९ बाट निर्माण शुरु गरिएको बन्दरगाह विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि रोकिएको थियो। चीन सरकारको रु एक अर्ब २० करोड लागतमा निर्माण हुन लागेको हो। चिनियाँ सरकारकै सहयोगमा मितेरी पुलदेखि बन्दरगाहसम्मको सडक स्तरोन्नति भइरहेको छ। नेपाल–चीन जोड्ने मितेरी पुल धमाधम निर्माण भइरहेसँगै तातोपानी नाका मे १ मा खोल्ने मौखिक सहमति पनि भैसकेको नेपालखबर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु