फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूतको नाच देखेर नेपाली दर्शक दंग

(GMT+08:00) 2019-03-09 14:45:01

'चरीजस्तै उड्न पाए गगनको तलतिर, उडिजान्थे धेरै टाढा मायालुको गाउँतिर...' भन्ने गीत बज्यो अनि चिनियाँ राजदूत होउ यान्छी मञ्चमा छमछमी नाच्न थाल्नुभयो। यो देखेर दर्शक छक्क परे। यान्छीले केही छिनअघि महिलालाई सम्बोधन गर्दै भाषण गर्नुभएको थियो। केही समयको अन्तरालमै यान्छीलाई एक्कासि मञ्चमा नृत्य पोशाकमा देख्दा दर्शक त्यसै पनि छक्क परेका थिए। त्यसमाथि जब उहाँ नेपाली गीतमा छमछमी नाच्न थाल्नुभयो, तब दर्शकको आश्चर्यको सीमा नै रहेन। चिनियाँ राजदूत नेपाली गीतमा नृत्य गर्नु सबैका बीच विशेष बन्यो।

शुक्रबार एक सय नवौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सबैले आ–आफ्नै ढंगबाट मनाइरहँदा चिनियाँ दूतावासले आयोजना गरेको नेपाली महिलासँगको जमघटमा राजदूत यान्छीले सम्बोधनसँगै नृत्य पनि गर्नुभएको हो। नेपाली गीतमा गरिएको सामूहिक नृत्यमा राजदूत यान्छीले मुख्य भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ नेपाली गीतमा नाच्दा उपस्थित नेपाली महिला पनि दंग देखिए। राजदूतसँगै ९ जनाले नृत्य प्रदर्शन गरे। उहाँको नृत्यपछि बधाई दिनेको भीड लागेको थियो। यान्छी राजदूत बनेर नेपाल आएको दुई महिनामात्रै भएको छ।

कार्यक्रममा सहभागी मन्त्री थममाया थापा, प्रधानमन्त्री केपी ओलीकी पत्नी राधिका शाक्य, सांसदहरू पम्फा भुसाल, अमृता थापा, आरजु देउवा, पुष्पा भुसाललगायतले राजदूत यान्छीको नृत्यको निकै प्रशंसा गरेका थिए। नेपाली गीतमा चिनियाँ महिलाले नृत्य प्रस्तुत गर्दा दुई देशको संस्कृति आदानप्रदान भएको उपस्थित महिलाले बताए। हरेक वर्ष चीनको मौलिक कला प्रदर्शनसहित दूतावासले महिला दिवस मनाउने गरेको नागरिकन्यूज डटकमले लेखेको छ।

जानकारी तथा लेखहरु