फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सहयोगमा वैशाखदेखि पेट्रोलियम खानी उत्खनन्

(GMT+08:00) 2019-03-12 17:08:52
चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ। २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको अन्नपूर्णपोस्टले लेखेको छ।

चीनले २ अर्ब ४० करोड रुपैयाँ लगानीमा २ वर्षभित्र उत्खनन् गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ। एक वर्षअघि चिनियाँ टोली दैलेख पुगेर खानी अध्ययन गरी तयार पारेको परियोजनाको विशेष प्रतिवेदन आइतबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक डा.सोमनाथ सापकोटाको नेतृत्वमा फागुन १२-१७ चीन पुगेर चाइना जिओलजिकल सर्भेका प्रतिनिधिसँग उत्खननसम्बन्धमा छलफल गरी काम सुरु गर्ने भएको हो। २ वर्षअघि भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग पेट्रोलियम खानीको उत्खनन गर्न चीनलाई जिम्मा दिने सहमति भएको थियो।

चिनियाँ कम्पनीले दैलेखमा ड्रिलिङ गर्ने र पाल्पाको पहाडी क्षेत्रमा बम पड्काएर अध्ययन गर्ने तथा तराई क्षेत्रमा भाइब्रेसनबाट पेट्रोलको मात्रा र कुन स्तरको भनी पत्ता लगाउने छ। चीन र नेपाल दुवैले यो परियोजनालाई निकै महत्वका साथ लिएका छन्। उत्खननको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने छन्। पेट्रोलियम पदार्थको खानी दैलेखको भैरवी गाउँपालिका-१ शिरस्थान र दुल्लु नगरपालिका-१० को नाभीस्थानमा छन्।

उत्खनन सामग्री र विषेशज्ञसहितको चिनियाँ टोली वैशाख दोस्रो साता आउने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले यस वर्ष अन्वेषणका लागि रकम विनियोजन गरेको छ। चिनियाँ कम्पनीको रिपोर्टमा पेट्रोलियम पदार्थको पर्याप्त सम्भावना रहेको उल्लेख छ।

जानकारी तथा लेखहरु