फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लार्चामा सुख्खा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा

(GMT+08:00) 2019-03-12 17:09:54
तातोपानी नाकालाई लक्षित गरी सिन्धुपाल्चोकको लार्चामा बनिरहेको सुख्खा बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ। सुख्खा बन्दरगाह निर्माणको ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ। केही महिना अघिदेखि चिनियाँ ठेकेदारले काम गरिरहेको र आगामी अप्रिलबाट निर्माण सकेर मे महिनाबाट बन्दरगाह सञ्चालन गर्ने योजना रहेको कारोबार दैनिकले लेखेको छ।

नेपाल यातायात इन्टर मोडल विकास समितिका इन्जिनियर प्रमोद आचार्यले बन्दरगाहमा सञ्चालनका लागि अन्तिम चरणका कामहरू भइरहेको बताएका छन्।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पपछि बन्द भएको तातोपानी नाका अझैसम्म सुरु हुन सकेको छैन। यसको निर्माण भूकम्पअघि नै सुरु भएको थियो। तर, भूकम्प र भोटेकोशी बाढीले क्षतविक्षत बनाएपछि चिनियाँ ठेकेदारहरू काम छाडेर गएका थिए।

सन् २०१३ मा बन्दरगाह निर्माणको सुरुवात भएको हो। तत्कालीन समयमा चीन सरकारले ४ अर्ब रूपैयाँमा सुख्खा बन्दरगाह, नेपाल-चाइना मितेरी पुलदेखि सुख्खा बन्दरगाहसम्मको करिव ६ किलोमिटर बाटो र पुल निर्माण गर्ने नेपाल सरकारसँग सम्झौता गरेको थियो।

बन्दरगाह निर्माण सुरु भएको २६ महिनामा सम्पन्न गर्ने योजना भए पनि भूकम्पले सबै लथालिंग पारेको थियो। चार दशमलव दुई हेक्टर क्षेत्रफलमा निर्माण भइरहेको बन्दरगाहमा १ सय ५८ ठूला कन्टेनर र २३ बढी कार अट्ने छन्। बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारेन्टाइन लगायतका कार्यालय रहने छन्। बन्दरगाहमा भण्डारण क्षेत्र कार्गो र लिटिगेसन गोदामसमेत आधुनिक शैलीमा निर्माण भइरहेको छ।

उत्तरी छिमेकी चीनसँगको ब्यापारिक नाका रसुवागढीमा पनि सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको छ। मुस्ताङको कोरला नाकामा पनि सुख्खा बन्दरगाह बनाउन नेपाल सरकारले पूर्वसम्भाव्यता अध्ययन पूरा गरेको छ। समितिले रसुवाको टिमुरेमा समेत सुख्खा बन्दरगाह बनाउने काम गरिरहेको छ। यस्तै चोभारमा अन्तर्राष्ट्रिय स्तरको सुख्खा बन्दरगाह बनाउने काम सुरु भइरहेको समितिले जानकारी दिएको छ।

जानकारी तथा लेखहरु