फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अरनिकोको शालिक निर्माण गरिने

(GMT+08:00) 2019-03-12 17:10:38
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले राष्ट्रिय विभूति अरनिकोको शालिक निर्माण गर्ने भएको छ। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले फागुन २७ गते उक्त प्रतिमाको शिलान्यास गरेका छन्। अरनिकोको स्मृति दिवशको सन्दर्भमा नाफाले परिसरभित्र रु ५० लाखको लागतमा १७ फिट अग्लो प्रतिमा निर्माण गर्न लागेको राससले जनाएको छ।

कार्यक्रममा शताब्दी पुरुष जोशीले तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई विदेशमा प्रचार गरेका अरनिकोको जीवनीबारे गहिरो खोज एवं अनुसन्धान गर्नुपर्नेमा जोड दिए। उनले अरनिकोको सिर्जनशील प्रतिभाको सही सदुपयोग तथा अवसर प्राप्त भएका कारण उक्त प्रतिभा अहिले विश्वकै महत्पूर्ण सम्पदाका रुपमा स्थापित भएको पनि बताए।

नाफाका कुलपति कान्छाकुमार कर्माचार्यले नेपाली वास्तुकलाको क्षेत्रलाई तत्कालीन समयमा अरनिकोले विदेश पुर्याएर नेपालीको गौरब बढाएको बताए। उपकुलपति गोपाल चित्रकारले करीब ७०० वर्षअघि अरनिकोले चीनमा गएर आफ्नो कलाकौशलका माध्यमबाट स्वदेशी वास्तुकलाको प्रबृद्धन गरेकाले उनको स्मरणमा शालिक बनाउन लागिएको जानकारी गराए।

शताब्दी पुरुष जोशीले विसं २०१६ मा पहिलोपटक चीन पुग्दा अरनिकोले निर्माण गरेको श्वैत चैत्य देखेपछि उनकोबारे थप अध्ययन गरेका थिए। जोशीले 'नेपालया राष्ट्रिय विभूति कलाकार अरनिकोया श्वेत चैत्य' नेवारी भाषामा कृति प्रकाशन गरेका थिए। सो पुस्तकलाई अङ्ग्रेजीमा अनुवाद गरी प्रकाशित गरिएको थियो। 'कलाकार अरनिको'कृतिसमेत प्रकाशन गरिएको छ।

सन् १३०६ मार्च ११ तारिखमा ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा निधन भएको इतिहासमा उल्लेख छ। नेपाल र चीनको मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्धको प्रतीक बनेको श्वेत चैत्यलाई चीन सरकारले राष्ट्रिय अमूल्य सांस्कृतिक सम्पत्तिका रूपमा घोषणा गरेको छ।

जानकारी तथा लेखहरु