फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समयअघि नै माण्डु जलविद्युत् निर्माण

(GMT+08:00) 2019-03-13 15:47:14
मकवानपुरको भीमफेदी गाउँपालिकास्थित इपापन्चकन्यामा २२ मेगावाट विद्युत् क्षमताको माण्डु हाइड्रोपावरको निर्माण सकिएको छ। २०७२ साल वैशाखदेखि निर्माण सुरु गरेको हाइड्रोको काम लक्षित समयभन्दा अगावै सकिएको हो।

चिनियाँ सिइच्वाङ हेइच्वाङ कम्पनी र माण्डु हाइड्रोपावर कम्पनीले आयोजना निर्माणको काम गरेको हो। करिब चार अर्बको लगानीमा हाइड्रोपावर निर्माण भएको र २०७६ साल असारसम्म सक्याउने लक्ष्यका साथ काम सुरु गरिएकोमा तोकिएको समय अगावै निर्माण सम्पन्न भएको आयोजनाका इन्चार्ज मनोज सिंहले बताएका छन्। अबको १५ दिनभित्र नियमित विद्युत् उत्पादन भई २२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने कारोबार दैनिकले लेखेको छ।

माण्डुबाट उत्पादित विद्युत् कुलेखानी प्रथमको सबस्टेसन धोर्सिङबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।

आयोजनाको बाँध निर्माण गर्ने, पावर हाउसको सिभिल वर्कको कार्य र सुरुङ खन्ने काम नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरेको हो। आयोजना निर्माणको लागि सिभिल वर्कतर्फ दैनिक २ सय जना र इलेक्ट्रो मेकानिकलको काममा चिनियाँ र नेपाली गरी ३० जना कामदार र प्राविधिक खटाइएको थियो।

हाइड्रोमा स्थानीय नागरिकको पनि १० प्रतिशत सेयर रहने छ। भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार प्रभावित क्षेत्र ललितपुरको माल्टा, घुसेल र मकवानपुरको इपापञ्चकन्या, सिस्नेरी, कोगटे र भीमफेदीका स्थानीयले करिब १२ करोड रुपैयाँ बराबरको सेयर पाउनेछन्। सेयर वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ।

यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिकामै अर्को १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।

जानकारी तथा लेखहरु